विषय प्रवेश नै नगरी सकियो एकता संयोजन समिति बैठक

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गर्न बनाइएको संयोजन समितिको बैठक एकताको विषयमा प्रवेश नै नगरी सम्पन्न भएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एकता संयोजन समितिको बैठक पार्टी एकताको विषयमा छलफल नै नगरी सकिएको हो ।
“बैठकमा एकता प्रक्रियाका विषयमा छलफल भएन,” बैठकमा सहभागी प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले भने, “राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठनलगायतका विषयमा छलफल भयो । पार्टी एकताका विषयमा कुरै हुन पाएन ।”
बैठकले वैचारिक लाइन र पद बाँडफाँटका लागि समिति बनाउने भनिएपनि तयारी गृहकार्य नपुगेको भन्दै समिति नबनाई बैठक टुंगिएको छ । पाण्डेले एकता प्रक्रियाका विषयमा थप गृहकार्य गरी आगामी बैठकमा छलफल हुने बताए ।
बैठकले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्टलाई अनुमोदन गरेको छ । यस्तै प्रतिनिधी सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुवै पार्टीले ल्याएको साझा चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न बैठकले विकास तथा योजना समिति बनाएको छ ।
एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा बनाइएको समितिमा भिम रावल, ईश्वर पोखरेल, युवराज खतिवडा, विजय पौडेल, वर्षमान पुन र मिनबहादुर श्रेष्ठ सदस्य रहने पाण्डेले जानकारी दिए । “यो कार्यदलले आगामी सरकारको नीति, प्राथमिकता र विकास सम्बन्धी मोडलका बारेमा गृहकार्य गरी प्रतिवेदन बुझाउने छ,” पाण्डेले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनहरि तिमल्सिनाका अनुसार बैठकले दुई पार्टीका अध्यक्षबीच जारी छलफललाई निष्कर्षमा पुयाएर वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णयसमेत गरेको छ ।
ओली र दाहालबीच शनिबार भएकोे बैठकमा प्रदेश सरकार गठन, राष्ट्रियसभा उम्मेदवार चयन र पार्टी एकीकरण प्रक्रिया टुंगो लगाउन आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको थियो ।
बैठकमा एमालेका तर्फबाट ओलीसहित झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे सहभागि थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन र मात्रिका यादव सामेल थिए ।
एमाले र माओवादीबीच नेतृत्व, सांगठनिक विषय र सैद्धान्तिक बाटो के हुने भन्ने बारेमा अहिले बहस चलिरहेको छ । सरकार गठन अगावै पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताइएको छ ।