राजनीतिक दलहरूको महाधिवेशनको रौनक «

राजनीतिक दलहरूको महाधिवेशनको रौनक

गणतान्त्रिक मुलुकमा नेपाली जनताले नयाँ संविधान पाएको ६ वर्ष नाघिसक्यो । नयाँ संविधान आएपछि मुलुकी संविधानअनुरूप नेपाली जनताले घरघरमा नै स्थानीय सरकार पाए । नेपाली जनताको दैनिक कार्यसम्पादन केन्द्रसम्म धाउन नपर्ने गरी मुलुक चुनावमा होमियो । स्थानीय निकायको चुनाव, केन्द्रीय स्तरको चुनाव र प्रादेशिक चुनावमा मुलुक प्रवेश ग¥यो । सोहीअनुरूप मुलुकले एमालेको नेतृृत्वमा गठबन्धनको नयाँ सरकार पनि पायो
। नेपाली जनताले पाँच वर्षका लागि नेकपाको स्थायी सरकार पाए पनि केपी ओलीको नेतृत्वमा बनेको सरकार चार वर्ष नबित्दै केही महिनाअघि मात्रै ढल्यो र फेरि नेपाली कांग्रसको नेतृत्वमा नयाँ सरकार बन्यो । कांग्रेसको नेतृत्वमा सरकार बने तापनि राजनीतिक दलहरूले सरकारमा मन्त्री नपठाउँदा सय दिन बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । त्यसको केही समयपछि सो क्रम चलिरहँदा मुलुकी संविधानअनुसार मुलुकले पाएको स्थायी सरकारको म्याद अब केही महिना मात्र बाँकी छँदा धेरै राजनीतिक दलहरू चुनाव लक्षित महाधिवेशनमा केन्द्रित हुन थाले र अहिले मुलुकमा विभिन्न राजनीतिक दलहरूले राजनीतिक नेतृत्व चयनका लागि स्थानीय पालिकादेखि केन्द्रीय र प्रादेशिक रूपमा धमाधम चुनाव गरिरहेका छन् ।
गत महिना मात्रै नेकपा एमालेले चितवनको नारायणी किनारमा भव्य रूपमा महाधिवेशन गरेको थियो । यस महाधिवेशनपछि भएको चुनावमा फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै नेकपा एमालेको अध्यक्षमा विजयी भए । केही महिनाअघि नै नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी ‘एकीकृत समाजवादी’ को गठन भएको थियो । एमालेको चुनाव अथवा महाधिवेशन सकिन नपाउँदै फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा एकता महाधिवेशन भएको थियो । लामो समयको कमल थापाको एकछत्र राजलाई पराजित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको अध्यक्षमा बाजी मारे । यो सर्वत्र चासोको विषय पनि बनेको थियो । फेरि राप्रपाको चुनाव नसकिँदै गत शुक्रबार नेपाली कांग्रेसको भव्य महाधिवेशन राजधानीको भृकुटी मण्डपमा भयो । यस महाधिवेशनमा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई व्यङ्ग्य गर्दै भने, “गाउँमा नेताले सभा ग¥यो अथवा हाम्रो गाउँमा नेता आएका छन् भनेर कसैले भन्यो भने के भन्छन्, थाह छ ? कुनचाहिँ ‘चोर’ आयो भनेर भन्छन् ।” यो विषयले विभिन्न नेताहरूले बोल्ने क्रमको टीकाटिप्पणी नै चल्यो । यस महाधिवेशनको अहिले बन्दसत्र चलिरहेको छ ।
जुनै नेताले जिते पनि मुलुकले तथा पार्टीले सच्चा नेतृत्व पाओस् भन्ने नेपाली जनताको चाहना छ । कोही–कोही मानिसहरूचाहिँ अब नेपाली कांग्रेसको नेतृत्व युवाहरूलाई सुम्पिदिए अझ राम्रो अनि सशक्त पार्टी बन्ने कार्यकर्ताहरूको ठम्याइ छ । तर, सबै परिणाम चुनावले गर्ने भएकाले कसले बाजी मार्ला भनेर अहिले नै भन्न मिल्ने अवस्था छैन । यसरी सबै दलहरूले महाधिवेशन केन्द्रित गर्दा मुलुक अहिले पूरै दलहरूको चुनावमय भएको छ ।
राजधानीका सडकछेउमा दलहरूको झन्डा देख्न सकिन्छ । दलका चुनावी घोषणा पर्चा तथा पम्प्लेटहरू देख्न सकिन्छ । राजधानीका चोकचोकमा रहेका चियापसलदेखि विभिन्न व्यावसायिक ठाउँहरूमा चुनाव केन्द्रित गफहरू सुनिन थालेका छन् । यो सरकारको समयावधि सकिन अब केही महिना मात्र बाँकी रहँदा मुलुक स्थानीय, केन्द्रीय र प्रादेशिक चुनावमा जानेछ । अब आउने चुनावमा नेपाली जनताले स्थानीय तवरदेखि नै मत हाल्छन् । जसले अत्यधिक मत ल्याउँछ, त्यही दलको नेतृत्वमा पाँच वर्ष कार्यकालका लागि स्थायी सरकार बन्छ ।

प्रतिक्रिया दिनुहोस्