सिभिल बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुल्ला

सिभिल बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको छ । बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ ।
प्रतिडिबेन्चर १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चरले हुन आउने ३ अर्ब बराबरको कुल डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर अर्थात १ अर्ब २० करोड ऋण पुँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा १८ लाख कित्ता डिबेन्चरले हुन आउने १ अर्ब ८० करोड ऋण पुँजी रकम विभिन्न व्यक्ति तथा संघ/संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
सर्वसाधारणहरुले कम्तीमा २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमाशिक रुपमा ब्याज भुक्तानी गरिनेछ र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई किन्बेच समेत गर्न सकिनेछ ।
सर्वसाधारणहरुले आफूले खरिद गर्न चाहेको ऋणपत्र सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् । ऋणपत्रको निष्काशन मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पुस ९ गते बन्द हुनेछ ।
बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको ब्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत डिबेन्चरहरुको औसत ब्याजदरभन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको ब्याजदर भन्दा पनि उच्च रहेको छ । सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएभन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्ने बैंकले जनाएको छ ।
सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५ प्रतिशत डिबेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।