तारा एयरको ई–सेवाबाट ठगिँदै यात्रु «

तारा एयरको ई–सेवाबाट ठगिँदै यात्रु

जुम्लाका हेमन्त घिमिरेले मंसिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लादेखि नेपालगन्जको टिकट बुकिङ गरे । हाल हवाई इन्धनको मूल्य वृद्धि भएसँंगै जुम्लादेखि नेपालगन्जसम्मको भाडादर ५ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ । तर तारा एयरको ई–सेवाले भने घिमिरेको ८ हजार ८ सय ३० रुपैयाँ काट्यो ।
तारा एयरकै अनलाइन एप्सले भने ५ हजार ८ सय ३० रुपैयाँ नै काटछ । यसरी बितेको एक महिनामा हेमन्त घिमिरेजस्तै जुम्लाबाट नेपागन्जका लागि उडान भर्ने करिब १० देखि १२ जना यात्रु तारा एयरको ई–सेवाबाट ठगिएको पाइएको छ । सोमबार मानव अधिकार आयोग, चन्दनाथ नगरपालिका र पत्रकार महासंघद्वारा सेवा प्रवाहको अवस्थाबारे गरिएको संयुक्त अनुगमनका क्रममा यस्तो भेटिएको हो । एउटै दूरीको हवाई भाडा ई–सेवाबाट दोब्बर महँंगो र अनलाइन तथा वितरण गरिएको टिकटको मूल्य फरक परेपछि गठिएको भन्दै तारा एयरको ई–सेवा सञ्चालनमा रोक लगाउनु पर्ने यात्रुले माग गरेका छन् ।
हरेक चारवटा सिट अनलाइन बुकिङका लागि छुट्याएका छौं । तारा एयरका जुम्ला स्टेसन प्रमुख दिपक भट्टचन्दले भने, “ई–सेवा सुरु गरेको एक महिना बढीमात्रै भएको छ । तर टिकट बुकिङ गर्दा ८ हजार ८ सय ३० भाडा काटेको पाइयो । किन र कसरी भयो भन्ने थाहा छैन । तर टिकट बुक गर्दा ध्यान पु-याउन भनेका छौ ।” हालसम्म करिब १२ जना जतिले ईसेवाबाट ८ हजार ८ सय ३० रुपैयाँको भाडा तिरिसकेका छन् । सिस्टमले लिइसकेपछि फिर्ता गर्न पनि सम्भव नरहेकाले ईसेवाबाट टिकट नकाट्न अनुरोध गरिएको उनको भनाइ छ ।
जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले तारा एयरको ई–सेवाबाट यात्रु ठगिएको विषयमा पत्रचार गरिसकेको बताए । उनले भने, “ई–सेवा भारतबाटै लन्च भएको हुनसक्छ । सप्टवेयरमा पनि समस्या छ । टिकट बुकिङ गर्दा सिटिजन्ससिप आउँदा नेपाली छनोट गर्नुपर्छ । तर यात्रुले थाहा नपाएरै टिकट बुक गर्दा भारतीय पाँच हजार काट्ने गरेको छ । सुधार गर्न भनेका छौं । तर माथिबाटै यात्रुलाई सचेत रहन भनिएको छ ।” सचेत रहन भनिए पनि टिकट छिटो लिने दाउमा यात्रुहरू ठगिरहेका छन् । ई–सेवाबाट एउटै दूरीको फरक भाडा भएकाले तत्काल सुधारमा ध्यान दिनुपर्ने मानव अधिकार अधिकृत धनराज शाहीको भनाइ छ । उनले भने, “अनलाइन टिकट शिक्षित मान्छेले नै काट्छ । तर तारा एयरको ई–सेवाले शिक्षितलाई ठगिरहेको छ । यसमा जिल्लादेखि केन्द्रको व्यवस्थापनले सुधार गर्नुपर्ने देखिन्छ । सञचारको जवानामा ई–सेवाबाट गठिन थाले पनि आयोगको ध्यान केन्द्रित भएको छ ।”
तारा एयरले एक दिनमा चाट टिकट अनलाइन बुकिङका लागि छुट्याएको छ । अनलाइन टिकट बुक गर्दा ईसेवा प्रयोग नगर्न सबै यात्रुलाई परामर्श गरिरहेको समेत स्टेसन प्रमुख दिपक भट्टचन्दको भनाइ छ । सिस्टम हेर्दा महँंगो तिरेको देखिन्छ । यसमा हामीले केही गर्न सक्दैनौ केन्द्रबाट समस्या समधानको पहल हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्