विद्युत खपत वृद्धिको अभियानमा छौं : ऊर्जामन्त्री «

विद्युत खपत वृद्धिको अभियानमा छौं : ऊर्जामन्त्री

एमाले नेताले भने, ‘नो एमसीसी’

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले विद्युत खपत वृद्धिलाई अभियानकै रूपमा अघि बढाउन लागेको बताइन् ।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको बिहीबार ललितपुरमा उद्घाटन गर्दै उनले सरकारले विद्युत खपत वृद्धिको अभियानमा लागेको बताउँदै यसका लागि सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताइन् । “उद्योग, कृषि, सिँचाइ, घरायसी प्रयोजनलगायत सबै क्षेत्रमा विद्युत खपत गर्ने अभियानमा छौँ, त्यसका लागि सबै क्षेत्रले सहयोग गर्नुपर्छ, सरकार, मन्त्रालय र नेपाल विद्युत प्राधिकरण सहजीकरणका लागि तयार छ,” उनले भनिन् ।

सामुदायिक संस्थाका लागि भनेर सरकारले आम उपभोक्तालाई दिइरहेकोभन्दा विद्युत महशुलमा केही सहुलियतसमेत दिएको स्मरण गराउँदै उनले सामुदायिक विद्युतीकरण गर्ने संस्थाले गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताइन् । ग्रामीण विद्युतीकरण, रोजगारीको सृजना, महिला सशक्तिकरण, विद्युतीय चुल्होको प्रवद्र्धन, जनताको पहुँचमा विद्युत सेवालगायत राम्रा कार्यहरू भइरहेको उनको दाबी थियो । उनले विभिन्न सामुदायिक संस्थामाथि सेवा प्रवाहमा गुणस्तरीयता नभएको, उपभोक्ताले पाउनुपर्ने सेवामा ढिलासुस्ती हुने गरेको, ग्रामीण भू–भागमा गुणस्तरीय सेवा दिन नसेको, विद्युतीय सुरक्षामा पर्याप्त ध्यान दिन नसकेको, कतिपय सामुदायिक संस्थाहरूले समयमा विद्युत महशुल भुक्तानी नगर्ने, विनियमावलीले तोकेभन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको, समयमै ग्राहकका समस्या समाधान नगरिदिनेजस्ता कार्यहरू गरेको गुनासो पनि आएको बताइन् ।
पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले समाजवाद उन्मुख संविधान भएको देशमा यसमा पुग्नका लागि सबेभन्दा ठूलो भूमिका समुदायको हुने बताउँदै नेपालको बिजुली महंगो भएकाले यसलाई सस्तो बनाउनुपर्ने र प्रसारण लाइनको निर्माणमा निजी क्षेत्रलाई सहभागी नगराई सार्वजनिक निकायबाटै गर्नुपर्ने बताए ।
सामुदायिक विद्युतीकरणको कार्यक्रम पूर्वमन्त्री एवं एमाले नेता आनन्द पोखरेलले अमेरिकी सहयोगको एमसीसी परियोजना नेपाललाई आवश्यक नरहेको बताए । “५५ अर्ब नेपालका लागि केही होइन, विना सर्तको सहयोग आवश्यक छ, हामीले नो एमसीसी भन्न सक्नुपर्छ,” उनले भने । कार्यक्रममा नेपाल विद्युत नियमन आयोगका अध्यक्ष डीबी सिंह, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल, गैसस महासंघका अध्यक्ष जीताराम लामालगायतले सामुदायिक विद्युतीकरणमार्फत ग्रामीण क्षेत्रसम्म विद्युत पु¥याउनु सकारात्मक भएको बताए ।
सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीका अनुसार अभियानले हाल देशभरका ५५ जिल्लाका करिब ५ लाख ५० हजारभन्दा घरधुरीमा विद्युत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्