अनुष्ठान गरेरै १२ करोड उठाउने लक्ष्य «

अनुष्ठान गरेरै १२ करोड उठाउने लक्ष्य

सडक मानवमुक्त मुलुक बनाउने अभियानमा मानवसेवा आश्रम

हेटौंडा-देशका विभिन्न १४ स्थानमा स्थापित ७ सय ५० जना सहयोगापेक्षी सडक मानवलाई आश्रय दिइरहेको आश्रमले निर्माणाधीन भवन पूरा गर्न र आश्रितको सेवाका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले सोमबारबाट मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान सुरु गरेको छ ।
६ वर्षभित्र सहयोगापेक्षी सडक मानवमुक्त नेपाल बनाउने अभियानमा लागेको मानव सेवा आश्रमले त्यसको लागि आर्थिक सहयोग संकलन सुरु गरेको हो । करिब १२ करोड संकलन गर्ने लक्ष्यका साथ सुरु भएको अनुष्ठानको सोमबार एक कार्यक्रमकाबीच सोमबार ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका छन् । ६ वर्षअघि स्थापना भएको आश्रमले हाल ६ वटा प्रदेशभित्र १२ जिल्लामा १४ वटा शाखा विस्तार गरिसकेको छ । सडकमा कष्टकर जीवन बिताइरहेका, मानसिक सन्तुलन गुमाएका, असहाय, अपांग मानिसको उद्दार गरी आश्रमले सेवा गर्दै आएको छ । हालसम्म आश्रममा एक हजार ७ सय जना सहयोगापेक्षी मानवलाई उद्दार तथा परिवारमा पुनःस्थापन गरेको जनाइएको छ ।
असल नागरिक निर्माण एवं मानवता प्रवद्र्धन कार्यमा टेवा पु¥याउने उद्देश्यका साथ अनुष्ठान आयोजना गरिएको र त्यसबाट संकलित रकमले भवन निर्माण सम्पन्न गर्नुका साथै करिब १० करोडको मानव सेवा अक्षयकोषको स्थापना गरिने लक्ष्य लिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । अनुष्ठान फागुन २० गतेसम्म चल्नेछ । आश्रमको केन्द्रीय कार्यालय रहेको हेटौंडा–९ लामसुरे धापमा निर्माणाधीन ३ तल्ले भवनको निर्माण पूरा गर्न २ करोड रुपैयाँ लाग्ने बताइएको छ । आश्रम निर्माणको लागि सरकारी तथा निजी क्षेत्रको सहयोगमा ३ करोड रुपैयाँ खर्च भइसकेको छ ।
अनुष्ठानमा श्रीमद्भागवत गीताको दार्शनिक, व्यावहारिक र जीवनोपयोगी प्रवचनका साथै नेपालका चर्चित विद्वान, विदुषी, धर्मगुरु, समाजसेवीलगायतबाट जीवनोपयोगी ज्ञान आदानप्रदान गरिनेसमेत कार्यक्रम रहेको छ । अनुष्ठानमा पण्डित श्री चैतन्यकृष्ण प्रमुख बाचकको रूपमा रहने आयोजकले जनाएको छ । निर्माणाधीन भवनको एक कोठा निर्माण गर्नका लागि ५ लाख ११ हजार दान गर्न सकिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्