आफ्नै ब्रान्डिङ र लेबलिङमा विश्व बजार पुग्दै नेपाली अलैंची «

आफ्नै ब्रान्डिङ र लेबलिङमा विश्व बजार पुग्दै नेपाली अलैंची


नेपालको पूर्वी पहाडी भेगमा उत्पादन हुने अलैंचीलाई ‘मसलाकी रानी, कालो सुन’ उपनाम दिइन्छ । नेपाली अलैंची भारत हुँदै पाकिस्तान, बंगलादेशलगायत विभिन्न मुलुक पुग्ने गरेको छ । अलैंची कृषिजन्य वस्तुमध्ये सबैभन्दा मंहगोमा भारतीय बजारमा निर्यात हुनेमा पर्छ । अलैंचीको निकासीबाट वार्षिक ६ अर्ब रुपैयाँ नेपाल भित्र्ने गरेको छ ।
तर, भारतीय बजार निर्भर निर्यातले अलैंची क्षेत्रमा पटक–पटक संकट देखापर्ने गरेको छ । भारतीय बजार निर्भर निर्यातले नेपाली उत्पादनले अपेक्षित लाभसमेत लिन सकिरहेको छैन भने किसान उधारोमा परिश्रम गर्न बाध्य छन् । विश्व बजारमा नेपाली अलैंचीका लागि बजार सम्भाव्यता अध्ययन नेपाल अलैंची व्यवसायी महासंघले पटकपटक सरकारको ध्यानकर्षण गराए पनि सरकारले समस्या समधानमा चासो देखाएको छैन ।
भारतीय बजारमा नेपाली अलैंचीको मूल्यमा हुने घटबढले पिरोलिँदै आएका नेपालका अलैंची व्यवसायी आफ्नै ब्रान्डिङ र लेबलिङमा लागेका छन् । अलैंचीको भण्डारण र बिक्री हुने मुख्य थलोको रुपमा परिचित झापामा मुलुककै पहिलो एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज प्रालि सञ्चालनमा आएको छ । प्रालिको उत्पादन तेस्रो मुलुकसम्म निर्यात हुँदा मूल्यमा हुने वृद्धिले किसानलाईंसमेत फाइदा पुग्ने अनुमान छ ।
एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज प्रालिले बजारमा मिजाज ब्रान्डका चार उत्पादन ल्याएको छ । जसमा माउन्टेन पल्र्स, अलैंची पाउडर, अलैंची दाना र अलैंची रहेका छन् । उद्योग स्थापनासँगै कृषि उपजमा मात्रै सीमित रहेको नेपालको अलैंची बजार उद्योगमा परिणत भएको छ । जसले विदेशी बजारमा नेपाली उत्पादनको पहुँच विस्तारमा भूमिका खेल्ने प्रालिका अध्यक्ष निर्मल भट्टराईले बताए ।
झापाकै व्यवसायी भट्टराई, सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टले स्थापना गरेको उक्त उद्योगको लगानी ७ करोड रुपैयाँ गरी अर्जुनधारा नगरपालिका–८मा प्रालिको स्थापना गरेका हुन् । नेपालमा उत्पादन हुने उत्तम कोटीको अलैंचीलाई छनौट गरेर खानालाई स्वादिष्ट बनाउने र पेय पदार्थको स्वाद सुगन्धमा समेत निखार ल्याउने विश्वासका साथ कम्पनी स्थापना भएको हो । कम्पनीलाई स्विजरल्यान्डको सहज प्रोजेक्टले बजारीकरणमा सहयोग गरेको सहजका रिक भ्यान्डर क्याम्पले जनाए ।
उत्पादनमध्ये मिजाज माउन्टेन पल्र्स स्वादिष्ट चाँदी–लेपित उच्चकोटीका अलैंची बीजलाई केसरको साथ मिसाएर तयार पारिएको छ । यो विशेष गरी माउथ फ्रेसनरको रुपमा प्रयोग हुन्छ भने यसले पाचनमा मद्दत र रक्त सञ्चारमा पनि सुधार ल्याउने सञ्चालक घिमिरेले जानकारी दिए ।
त्यस्तै, मिजाज अलैंची पाउडर एउटा मसला भएको र शाकाहारी र मांसाहारी परिकार साथै चिया, सर्वत र ककटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने बताइएको छ । मिजाज अलैंची दाना भने उच्चस्तरीय अलैंचीको दाना प्रशोधित गरी सर्वोत्तम गुणस्तर तयार पारिएको छ । मिजाज अलैंची शाकाहारी र मांसाहारी परिकारमा मसलाको रुपमा र बिर्यानी, पुलाव, मासु तथा तरकारी जस्ता परिकारमा प्रयोग गरिने बताइएको छ । उद्योगले भविष्यमा ‘कार्डममको टी’ र ‘कार्डमम ग्रीन टी’को उत्पादनसमेत गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्