मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ «

मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ

मुक्तिनाथ फाउण्डेशनको विधिवत शुभारम्भ भएको छ । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको हो । मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।
फाउण्डेशनका अध्यक्ष भरतराज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । सोही क्रममा उनले फाउण्डेशनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्य बारेमा आफ्नो धारणासहित स्वागत मन्तव्य राखेका थिए । यो संस्था गैरराजनीतिक, निस्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाइको संस्थाको रुपमा विकास गरिनेमा उनले जोड दिए ।
सोही कार्यक्रममा संस्थाका सल्लाहकार भरतप्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावि योजनाहरु बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्यामसुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मी र गायिका सुनिता दुलालले फाउण्डेशनको प्रभावकारिता र सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।
वक्ताहरुले संस्थालाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । सभाको क्रममा संस्थाको सञ्चालक समितिका सदस्य सीताराम काफ्लेले शुभारम्भ कार्यक्रमका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापनसहित सभाको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्