सुधार भएन दैलेख–तामे सडक «

सुधार भएन दैलेख–तामे सडक

दैलेख–नौमूले सडक खण्डको ट्रयाक खोलेको झण्डै १८ वर्ष पुग्दा पनि सडकको स्तरोन्नति नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । ०५७-५८ सालमा ट्रयाक खोले पनि उक्त सडकको स्तरोन्नति नहुँदा दिनहुँ यात्रुले सास्ती खेप्नु परेको हो ।
सरोकारवाला सडक स्तरोन्नतिमा चासो नदिँदा उक्त सडकमा यात्रुले सँधै सास्ती व्यहोर्नुपरेको छ । सो सडकको बीचबीचमा हिलो साँघुरो अनि धुलाम्मे सडकको यात्रामा नागरिक ढुक्क मनले यात्रा गर्न पाएका छैनन् । तर यात्रामा सास्ती मात्रै हैन जोखिमसमेत बढ्दै गएको छ । करोडौ खर्चेको उक्त सडकको हालत अहिले पनि उस्तै छ । उता जिल्ला समन्वय समिति दैलेखका योजना अधिकृत पदम सापकोटाले उक्त सडक खण्डमा हालसम्म झण्डै ४ करोडभन्दा बढी रुपैयाँ खर्च भएको बताए ।
स्थानीय तह निर्माणसँगै नौमूले गाउँपालिकाले गाउँपालिका सिमाना तामेदेखि नौमूले सडकको सुधार गरिसकेको छ भने नारायण नगरपालिकाले सदरमुकामदेखि तामे खोलासम्म सडक सुधारमा कुनै चासो नदिएको सरोकारवाला बताउँछन् । वर्षायाम तथा हिउँदमा समेत दैलेख तामे सडक हिलाम्मे बन्दा दैलेख तामे सडकको यात्रा झनै जोखिम र कष्टपूर्ण बन्ने गरेको नौमूलेका स्थानीय बताउँछन् ।
सदरमुकाम दैलेख बजारबाट करिब १९ किमिको दूरीमा नौमूले गाउँपालिकाको नौमूले बजार पुगिन्छ । तर दैलेख सदरमुकामदेखि तामे खोला अर्थात नौमूले गाउँपालिका सीमा क्षेत्रसम्म हिलो तथा साँघुरो सडक यात्राले यात्रुको विजोग हुने गरेको कर्ण तारामी बताउँछन् । “तामे दैलेख सडक पानी परे पनि नपरे पनि सधै हिलाम्मे हुन्छ,” स्थानीय तारामीले भने, “बाह्रै महिना यहाँका स्थानीयले उक्त सडक हिलाम्मे र धुलाम्मे हुन्छ, पानी परेपछि हिँड्नै डर हुन्छ गाडी फसेर कतिबेला कहाँ दुर्घटना हुने हो ।”
सडक निर्माण भएको वर्षौ बित्दासमेत सडकको स्तरवृद्धि हुन नसक्दा यात्रुले सँधै सास्ती खेप्नुपरेको नौमूले गाउँपालिका–३ द्वारीका स्थानीय शशिराम रोका बताउँछन् । “सडक निर्माण भएको करिब १३ वर्ष बित्न लागिसक्यो अझै यात्रुले ढुक्कसँग यात्रा गर्न पाएका छैनन्,” स्थानीय रोकाले भने, “कालोपत्रे भइसक्नुपर्ने सडक अझै उस्तै छ, सवारी साधनमा यात्रा गर्न सँधै डराउनुपर्छ ।” नेताहरूले पहल लिन नसक्दा सडकको स्तरवृद्धि हुन नसकेको उनको गुनासो छ । बर्सेनि करोडौं खर्च गरिन्छ तर बर्खा र हिउँदमा कुनै फरक हँुदैन उक्त सडकमा बाहै्र महिना हिलाम्मे मात्र हुन्छ,” रोकाले भने, “जब नौमूलेबाट दैलेख सदरमुकामको यात्रा तय हुन्छ, तब तामेदेखि सदरमुकाम प्रवेश गर्न मुस्किलको यात्रा गर्नुपर्छ ।” दैलेख–तामे सडकमा पटकपटक कालिकाको पदमखोला हाइड्रोको डोजरले सडक सफा गर्दा यात्रामा केही सहज बनाएको रोका बताउँछन् । धुलो र हिलोले मोटरसाइकल तथा साना सवारी साधन र यात्रुले सास्ती बेहोर्नु परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
नौमूलेदेखि तमेखोलासम्मको सडक नौमूले गाउँपालिकाले यात्रुलाई सहज यात्राका लागि विशेष चासोका साथ मर्मत गरिरहेको बताउँछन् नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा । साथै अध्यक्ष बुढाले यसै वर्ष तामे–नौमूले सडकलाई स्तरोन्नति गरी ग्राभेल गरिने बताए । यसै अर्थिक वर्षमा प्रदेश सरकारले दैलेख–खुर्सानीबारी–तामेखोला सडकका लागि १ करोड र तामे–नौमूले हँुदै जाजारकोट–जुनी सडकका लागि १ करोड रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्