रहेनन् युवा उद्यमी अग्रवाल

नेपालको चेम्बर आन्दोलनमा एक दशकभन्दा लामो समयदेखि सक्रिय युवा उद्यमी मनिषकुमार अग्रवालको असामयिक निधन भएको छ । एचपी अग्रवाल ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशकसमेत रहेका उनी उत्पादनमूलक उद्योग र श्रम मामिलाका जानकार थोरै व्यवसायीमध्ये एक थिए । पछिल्लो श्रम कानुन निर्माण र न्यूनतम ज्यालासम्बन्धी कार्यदलमा लामो समयदेखि रहेका उनको निधनसँगै निजी क्षेत्रले अध्ययनशील, अनुभवी तथा लगनशील व्यक्तित्व गुमाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा झन्डै १२ वर्षदेखि आवद्ध अग्रवाल निर्यात परिष्दका सभापति थिए । ब्लड क्यान्सरबाट पीडित अग्रवालको आइतबार बिहान भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा ४५ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले स्तब्ध बनाएको र नेपालको औद्योगिक क्षेत्र तथा चेम्बर आन्दोलनमा अपूरणीय क्षति पुगेको निजी क्षेत्रका अगुवाहरूले बताएका छन् ।
एक महिनाअघि अग्रवालले आफ्नो स्वास्थ्य परीक्षण गराउँदा कुनै पनि समस्या नभएको भन्दै मेदान्तले नेपाल पठाएको थियो । यसबीचमा एक्कासी स्वास्थ्यमा समस्या देखा परेपछि उनी पुनः मेदान्त पुगेका थिए । पछिल्लो दुई सातायता मात्रै उनलाई ब्लड क्यान्सर भएको पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । अग्रवालको निधनले नेपालको सम्पूर्ण निजी क्षेत्रमा अतुलनीय क्षति भएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । महासंघमा १२ वर्षदेखि आफूले अग्रवालसँगै काम गरेको स्मरण गर्दै राणाले अग्रवाल निकै सक्रिय र सधै हँसिलो स्वभावमा कारण आफूहरूलाई पनि सहकार्यमा सँधै रमाइलो महसुस हुने गरेको स्मरण गरिन् । आफू उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुँदासम्म अग्रवालले निकै सहयोग गरेको स्मरण गर्दै अग्रवालको उत्कृष्ट कामकै कारण निर्यात परिषद्को सभापतिमा मनोनित गरिएको अध्यक्ष राणाले बताइन् ।
निवर्तमान अध्यक्ष पशुपति मुरारकासँग निकै नजिक रहेर काम गरेका उद्यमी अग्रवाल महासंघको गत चैत महिनामा भएको साधारणसभामा एसोसियटतर्फबाट कार्यकारिणी समितिको सदस्यमा निर्वाचित भएका हुन् । मुरारका रोजगारदाता परिषद्को सभापति हुँदा अग्रवाल सहसभापति थिए । त्यस बेला नेपालमा श्रमको ठूलो समस्या थियो । त्यसलाई समाधान गर्न अग्रवालले महत्वपूर्ण योगदान गरेको मुरारकाले बताए । नवलपरासीमा लुम्बिनी चिनी र वीरगञ्जमा प्लाष्टिकको बोरा बनाउने उद्योग खोलेका अग्रवाल अध्ययनशील उद्यमीका रूपमा चिनिएका थिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्रलाइ व्यावसायिक रूपमा अघि बढाउन ठूलो योगदान गरेको बताए । महासंघका विभिन्न समितिमा बसेर उनले धेरै राम्रो काम गरेको गोल्छाले बताएका छन् ।