सत्ता कब्जा गर्ने नियतले माओवादी मन्त्रीले राजीनामा दिएनन् : लेखक «

सत्ता कब्जा गर्ने नियतले माओवादी मन्त्रीले राजीनामा दिएनन् : लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नुपर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोड्नुको कारण सत्ता कब्जाको उदाहरण भएको टिप्पणी गरे । नेता लेखकले वाम एकता र चुनावी तालमेलले कांग्रेसलाई कुनै असर नपार्ने बताए ।

“कांग्रेस राणाका विरुद्धमा एक्लै लड्यो, पञ्चायतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो । आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामी कसैसँग डराउँदैनौं,” उनले भने । 

केन्द्र र प्रदेश सभाको निर्वाचनमा कांग्रेस एक्लै बहुमत ल्याउने भन्दै नेता लेखकले वाम एकताको आयु लामो नहुने दाबीसमेत गरे । वाम एकता सत्ता र सरकारको लागि रचिएको नाराको संज्ञा दिँदै नेता लेखकले राष्ट्रहित विपरित वामपन्थीहरु उभिएको बताए । 

जिम्मवारी नदिएपनि सरकार छोड्दैनौंः रायामाझी
सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु विना विभागीय भएपनि सरकार नछोड्ने र निर्वाचनसम्म सरकारमै रहने बताए ।

कांग्रेससँग भएको प्रतिवद्धता अनुसार नै आफ्ना मन्त्री निर्वाचनसम्म रहने उनको भनाइ थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले के गर्न खोजेको भन्ने नबुझिएको भन्दै देउवाको निर्णय अनुसार आफूहरुले निर्णय गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्