मुलुक, महाधिवेशन अनि सरकार «

मुलुक, महाधिवेशन अनि सरकार

सरकारका तीनै निकाय न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका अहिले ठप्पै छन् । संसद् नबसेको निकै लामो समय भइसक्यो, उता न्यायपालिकामा न्याय नमिलेको महिना दिन बितिसक्यो । सर्वोच्चमा प्रधान न्यायाधीशको राजीनामा माग गर्दै लामो समय सर्वोच्चको काम–कारबाही ठप्पजस्तै थिए । पछिल्लो समय गोला प्रथा प्रणाली लागू भएपश्चात् न्याय प्रणालीमा केही सहजता भएको छ, तर समस्या भने कायमै छ । यद्यपि प्रधान न्यायाधीशप्रति असन्तुष्ट सम्बन्धित निकायहरूको विरोध कायमै छ । जस्तो संसद्मा सभामुखको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेका थिए, त्यस्तै सर्वोच्चमा पनि न्यायाधीश, बार पदाधिकारी र सम्बन्धित सरोकारवालाले राजीनामा माग गरिरहे, जुन आजसम्म पनि कायमै छ
। विरोधलाई बेवास्ता गर्दै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च चलाइरहे । त्यस्तै संसद्मा पनि सभामुख अग्नि सापकोटाले विपक्षी दल एमालेको नाराबाजीकै बीच पनि संसद् चलाइरहेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पटक–पटक विघटन गरे, तर सर्वोच्चले पुनस्र्थापना गरिदियो । सर्वोच्चले संसद् पुनस्र्थापना मात्र गरिदिएन, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनू भनी परमादेशसमेत जारी ग-यो । केपी ओलीको सरकार ढल्यो, ओलीको दम्भमा खोट लाग्यो । फलस्वरूप नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतको गठबन्धनको सरकार बन्यो । ओलीले पार्टी एकता भंग गरे, वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध बिगारे । सरकारको अवधि १८ महिनाजति बाँकी रहँदै गर्दा ओलीले संसद्को विघटन गरे, निर्वाचनको मिति घोषणा गरे ।
अन्तिममा सरकारबाट बाहिरिए, सहकर्मी गुमाए तर उनमा घमन्ड कायमै रह्यो ।
अहिले मुलुकमा विकासका कार्य सुस्त छन् । बेराजगारी, गरिबी, महँगीले मुलुक व्याप्त अवस्था छ । कोरोना भाइरसका नयाँ–नयाँ भेरियन्टसमेत फेला परिसकेको अवस्था छ, तर सरकार यतातर्फ मौनजस्तै छ । पूर्वतयारी नअपनाउनाले ठूलो क्षति गुमाएको यस अगाडिका घटनाबाट स्पष्ट छ, तर सचेतना भने पर्याप्त छैन । देशका प्रमुख पार्टी भनाउँदाहरूको अहिले महाधिवेशन चलिरहेको छ, उनीहरूलाई देश र जनताका बारेमा सोच्ने अहिले समय नै छैन । नेकपा एमालेले चितवनको नारायणी किनारामा करोडौं खर्चेर महाधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीमा उही पुराना पदाधिकारी स्थापित भएका छन् ।
अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पनि महाधिवेशन सम्पन्न भएको छ । जसमा पुराना अध्यक्ष कमल थापा पाखा लागेका छन् भने नयाँ अध्यक्षमा राजेन्द्र लिङ्देनको उदय भएको छ, जसले राजनीतिक वृत्तमा एक प्रकारको तरंग फैलिएको छ । लामो समय राप्रपाको अध्यक्षता गर्दै आएका कमल थापाको विरासत भत्किएको छ । निर्वाचनमा पराजित भएपछि आरोप–प्रत्यारोप लगाउँदै उनी बाहिरिए ।
त्यस्तै नेपाली कांग्रेसको महाधिवेशन पनि सँघारमै आइसकेको छ । महाधिवेशनमा रस्साकस्सी चलिरहेको छ । सब पदको लालचामा छन्, परिणाम भने हेर्न बाँकी नै छ । पार्टीहरू महाधिवेशन केन्द्रित भइरहँदा सरकार भने अलमलमै रहेको देखिन्छ । लाग्छ, अब आम पार्टीहरू निर्वाचन कुरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्