अनुभव र सिकाइ अनुकरणीयः राष्ट्रपति भण्डारी «

अनुभव र सिकाइ अनुकरणीयः राष्ट्रपति भण्डारी


भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका क्रममा नेपालले प्राप्त गरेका अनुभव तथा सिकाइहरु अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।
२०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को बुधबार उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले तय गरेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापना कार्यको कार्यान्वयनका निम्ति कोशेढुंगा सावित भएको उल्लेख पनि गरिन् । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता गरेअनुसारको अधिकांश सहयोग प्राप्त भइरहेकोमा हर्ष व्यक्त गरिन् ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालको पुनर्निर्माण अभियानमा प्रत्यक्ष तथा परोक्ष सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई धन्यवाद दिँंदै पुनर्निर्माणबाट निर्णय क्षमता, नयाँ प्रविधि एवं दक्ष जनशक्ति उत्पादन भएको बताए । अर्थमन्त्री शर्माले विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा उच्च राजनीतिक समझदारी तथा मित्र राष्ट्रहरूको सहयोग असाध्यै महत्वपूर्ण हुने उल्लेख गर्दै बाँकी रहेका केही कार्य सरकारका नियमित संयन्त्रमार्फत सम्पन्न गर्ने व्यवस्था गरिएको जानकारी दिए । यसअन्तर्गत निजी आवासहरूको काम चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी पनि उनले दिए ।
अर्थमन्त्रीले २०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचनाहरू सकारका नियमित कार्यक्रमहरूमा राखी प्राथमिकताका साथ सम्पन्न गरिने बताउँदै विपद व्यवस्थापनसम्बन्धी कार्यहरू विपद व्यवस्थापन प्राधिकरणमार्फत सम्पन्न गर्ने व्यवस्था मिलाएको जानकारी पनि दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सम्पन्न हुन गइरहेको सन्दर्भमा आयोजित सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका बस्तीहरूको स्थानान्तरणका लागि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाइएको तथा बस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक अघि बढेको बताए ।
साथै राजनैतिक दलहरूको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताका कारणले सफलता हात लागेको उनको भनाइ छ । दोस्रो संविधानसभाको निर्वाचनपछि संविधान निर्माणका लागि संसदमा बहस गरिरहँदा विनाशकारी भूकम्प आएर नौ हजारले ज्यान गुमाएका थिए भने २२ हजार घाइते भएका थिए । भूकम्पबाट १० लाखभन्दा बढी निजी घर, हजारौं विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी संरचना र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरू भत्किएका थिए । उक्त संकटको सामना गर्न सरकारले सबै पार्टीको एकता र संकल्प आवश्यक भएको कुरामा जोड दिँदै साझा प्रतिबद्धताका लागि आह्वान गरेपछि संसदमा संविधान निर्माणको बहस सहमतिमा पुग्नुका साथै पुनर्निर्माणको कामप्रति साझा प्रतिबद्धता जनाउन दलहरू सफल भएका थिए ।
उद्घाटन कार्यक्रमको अध्यक्षता समेत गरेका पराराष्ट्र मन्त्री डा. नारायण खड्काले विकास साझेदारहरूको सहयोगले नेपालीको पुनर्निर्माण अगाडि बढाउने आत्मविश्वास र उत्थानशिलतामा महत्वपूर्ण टेवा दिएको बताए ।
यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विकास साझेदारलगायत सबै सरोकारवालाका सहयोगमा पुनर्निर्माण मूलभूत रुपमा सम्पन्नताको चरणमा पुगेको उल्लेख गर्दै आगामी दिनमा पुनर्निर्माण तथा विपद् व्यवस्थापनका कार्यहरू गर्दा राजनीतिक नेतृत्व दृढ प्रतिबद्धता, सबै पक्षबीच समझदारी, अधिकारसम्पन्न स्वायत्त निकाय, समुदायको परिचालन एवं सबैलाई समेट्ने नीति लिइनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा भारतका विदेशमन्त्री एस. जयशंकर, चीनका विदेशमन्त्री वाङ यी, बेलायतको एफसिडिओका मन्त्री लर्ड अहमद, जापानका विदेश मामिलासम्बन्धी संसदीय राज्यमन्त्री होण्डा तारोले रेकर्ड गरिएका सन्देशमार्फत् सम्बोधन गरेका थिए । त्यसैगरी, राष्ट्रसंघको एसिया तथा प्यासिफिक विकास समन्यव कार्यालयका क्षेत्रीय निर्देशक नेइल बुह्ने, एडिबीका उपाध्यक्ष शिसिन चेन, युरोपियन कमिस्नार फर क्रासिस म्यानेजमेन्ट जानेज लेनार्सिस, एसडिसीका महानिर्देशक प्याट्रिसिया डाञ्जी र क्यानडाको नेपालसमेत हेर्ने दिल्लीस्थित चार्ज डि अफेयर्स अमान्डा स्ट्रोहानका पनि रेकर्ड गरिएका सन्देशहरु प्रस्तुत गरिएको थियो ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी, विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंका प्रमुख फारिस एच. हाडाड–जेर्भोस र युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक लार्यिय एड्जेईले कार्यक्रममा सम्बोधन गरेका थिए भने नेपालस्थित नर्वेकी राजदूत तारुन ड्रामडालले नर्वेको अन्तर्राष्ट्रिय विकासमन्त्री आन विथ टिभिनेरेइमको सन्देश पढेर सुनाएका थिए ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, चीनका राजदूत होउ यान्छी, स्विट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरको पनि उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमलगत्तै सम्मेलनअन्तर्गतका १० वटा विषयगत सत्र सम्पन्न भएका छन् । बिहीबार थप १० वटा सत्र सम्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा अपरान्ह सम्मेलनको समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्