कफी र पस्मिनाको उत्पादन बढाउन ईयूले प्राविधिक सहयोग गर्ने

नेपाली कफी र पस्मिनाको उत्पादन बढाउन युरोपियन युनियन (ईयू)ले प्राविधिक सहयोग गर्ने भएको छ । व्यापार तथा लगानी कार्यक्रम अन्तर्गत ईयूले गुणस्तरीय उत्पादन र त्यसको क्षमता अभिवृद्धि गर्नका लागि प्राविधिक सहयोग गर्न लागेको हो । ती उत्पादनको मूल्य श्रृंखला अन्तर्गत निर्यात प्रवद्र्धन गर्न यस्तो सहयोग गर्न लागिएको छ ।
कफीको उत्पादन बढाउन किसानलाई तालिम उपलब्ध गराइने छ । नेपालमा उत्पादन भएको कफीको माग उच्च भएकाले निर्यात बढाउनका लागि ईयूले प्राविधिक सहयोग गर्न लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा कफीको उच्च माग भए पनि पर्याप्त उत्पादन नहुँदा निर्यात बढाउन सकिएको छैन । यस कार्यक्रम अन्तर्गत कफीको उत्पादन बढाउन विभिन्न प्राविधिक सहयोग गरिने ईयूले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ईयूले पस्मिनाको व्यापार रणनीति तयार गर्नका साथै फाइबर उत्पादनका लागि किसानलाई तालिम, उद्योग स्थापना र प्रशोधनका लागि प्राविधिक सहयोग गर्नेछ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७-०७८ मा पस्मिना सलको निर्यात ४४.३ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको थियो । अमेरिका, फ्रान्स, अष्ट्रेलियालगायत मुलुकमा पस्मिना निर्यात हुने गर्छ ।
त्यसैगरी आर्थिक वर्ष २०७६-०७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात भएकोमा आर्थिक वर्ष २०७७-०७८ मा ९ करोड ६० लाख रुपैयाँको भएको छ । कोभिड महामारीको बीचमा पनि कफीको निर्यातमा उल्लेख वृद्धि भएको छ ।