नेपाल लाइफ समुन्नत जीवन बिमा योजना सार्वजनिक «

नेपाल लाइफ समुन्नत जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै उक्त जीवन बिमा योजना ल्याएको जनाएको छ । यो जीवन बिमा योजना मुनाफामा सहभागी हुने सावधिक जीवन बिमा रहेको कम्पनीले जनाएको छ ।
विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरू, हाइड्रोपावर भवन निर्माण लगायतका निर्माण अघि बढेको र यस्तो विकास निर्माणका काममा जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले उक्त बिमा योजना ल्याएको जनाएको छ ।
यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बिमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बिमा योजनाको माग भएको सर्वेक्षणका आधारमा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना ल्याएको जनाएको छ ।
यो योजनाको मूख्य आकर्षण बिमा अवधिभित्र बिमितको दुर्घटनाका कारण मृत्यु भएमा बिमांक रकमको तेब्बर र आर्जित बोनस बिमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्ने जनाएको छ । बिमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बिमा लिन सकिने जनाएको छ ।
यस्तै १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिने जनाएको छ । यका साथै अतिरिक्त बिमाशुल्क तिरेर बिमाङ्क रकम बराबर वा अधिकतम पचास लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन पनि सकिने जनाएको छ ।
बिमालेखको बिमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुने र पचास हजार देखि एक करोडसम्मको बिमाङ्क रकमको बिमा गर्न सकिने नेपाल लाइफले जनाएको छ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरूपमा बिमा शुल्क भुक्तानी गर्न सकिने बिमा योजनामा वार्षिक बिमा शुल्क तिर्दा १ प्रतिशत छुट, त्रैमासिक बिमा शुल्क तिर्दा ३ प्रतिशत थप र मासिक बिमा शुल्क तिर्दा ६ प्रतिशत थप लाग्ने कम्पनीले जनाएको छ । अर्ध वार्षिक बिमा शुल्क भुक्तानीमा भने प्रिमियम थप घट नहुने उल्लेख छ ।
बिमालेख चालु रही बिमा अवधि समाप्त मितिसम्म बिमित जीवित रहेमा बिमा अवधि समाप्तीको अन्त्यमा बिमांक रकम साथै आर्जित बोनस एकमुष्ट बिमितलाई भुक्तानी दिने कम्पनीले जनाएको छ । बिमालेख चालु रही बिमा अवधि भित्र जुनसुकै कारणबाट (बिमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बिमितको मृत्यु भएमा दुई गुणा बिमांक रकम साथै आर्जित बोनस एकमुष्ट बिमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी हुनेछ ।
यस्तै बिमा अवधिभित्र बिमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बिमालेखमा उल्लेख भएको तीन गुणा बिमांक रकम साथै आर्जित बोनस रकम एकमुष्ट बिमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी हुने कम्पनीले जनाएको छ ।
बिमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भए पश्चात बिमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्