बजार नियन्त्रण गर्ने नीतिले सेयर निरन्तर घट्यो : पोखरेल «

बजार नियन्त्रण गर्ने नीतिले सेयर निरन्तर घट्यो : पोखरेल


नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताइकी छिन् ।
अध्यक्ष पोखरेलले नियामक निकायहरुले सेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर, सेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताइन् । उनले नियामक निकायले सेयर बजार बढी रहेको अवस्थामा जसरी भएपनि बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको आरोप लगाइन् ।
“सरकारका सेयर बजार नियामक निकायहरुले पुँजीबजारलाई लगाम लगाउने हिसाबले अगाडि बढेका छन्” उनले भनिन्, “सेयर बजार एउटा गतिमा दौडिरहेको अवस्थामा नियामक निकायहरुले बजारलाई प्रभावित गर्ने गरी नयाँ नीति ल्याउँदा लगानीकर्तामा निराशा छाएको छ ।” सेयर बजार ३२ सय विन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्न, मौद्रिक नीतिमा सेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरुको सेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले बताइन् ।
“धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दा थप बजार प्रभावित भयो” उनले भनिन्, “त्यसपछि चालु आर्थिक वर्षको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा एउटा लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा एउटा बैंकबाट ४ करोड र तीन वटासम्म १२ करोडको सीमा तोकिँदा सेयर बजारमा निराशा छ ।”
सरकारले ल्याएको बजेट खर्च नगरेर राज्यको ढुकुटीमा थन्केर बसेकाले पनि सेयर बजारमा समस्या सिर्जना भएको उनको भनाइ छ । यो विषयमा अर्थ मन्त्री जनार्दन शर्माले पनि बजेट खर्च गर्ने कुरामा केही चासो नदेखाएको उनको आरोप छ ।
“पछिल्लो तीन महिनाको अवधिमा सेयर लगानीकर्ताको २० प्रतिशत नोक्सानी भएको छ” उनले भनिन्, “यहि अवस्था तीन वर्षसम्म रहेमा लगानीकर्ताको सेयर बजारमा १० प्रतिशत लगानी पनि रहँदैन ।”
अध्यक्ष पोखरेले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गरेपनि पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फकिएकाले बजार गिरावट भएको बताएन् । उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताइन् । पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुँदै गएको अधयक्ष पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्