निजगढका किसानलाई क्रेडिट कार्ड

प्रदेश–२ मा पहिलो पटक निजगढ नगरपालिकाले कृषकहरुका लागि किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्ने भएको छ ।
नगरभित्र रहेका किसानलाई छिटो र सहज तरीकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तीन प्रकारको किसानको तथ्य संकलन गर्ने कार्य धमाधम थालेसँगै किसानले स्थानीय सरकारको प्रत्यक्ष सुविधा प्राप्त हुने भन्दै खुशी व्यक्त गरेका छन् ।
क्रेडिट कार्डको प्रयोगबाट किसानलाई बैंकमार्फत सामान्य कर्जामै हुने समस्या हल हुनेछ भने उक्त कार्डले किसानलाई मल, बिउ, कृषि औजार, कृषि सामग्रीलगायत अन्य आवश्यक कृषि सम्बन्धि वस्तुहरु खरिद गर्न उपयोगी हुने निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले बताए ।
कृषकमाथि प्रवाह गरीने कर्जाको जोखीम न्युनिकरण गर्न शुरुमै कार्ड प्राप्त किसानलाई नगरपालिकाले दिने सेवा सुविधाबाहेक विभिन्न निकायबाट प्राप्त हुने अनुदान लगायतका कुरामा कटौती गरीनेसमेत प्रमुख खनालले बताए ।
कार्ड प्राप्त गर्ने किसानले जग्गाको क्षेत्रफल र भूगोल हेरेर अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन् । यो रकम किसानले उत्पादनको बिक्रीपछि वा किस्तामा तिर्न सक्ने सुविधा नगरपालिकाले प्रदान गर्ने छ । उक्त कार्डको प्रयोग कृषि औजार, कृषि सामग्रीलगायत अन्य आवश्यक कृषि सम्बन्धि वस्तुहरु खरिद गर्नका लागि मात्र प्रयोग हुने जनाइएको छ । नगरपालिकाले सञ्चालन गर्न लागेको किसान क्रेडिट कार्ड स्किममार्फत कृषकहरुले बैंकबाट नगरपालिकाको सहजीकरणमा सहज ढंगले कर्जा समेत प्राप्त गर्न सक्छन् ।