पुल र सडकका लागि ९६ करोड बजेट विनियोजन «

पुल र सडकका लागि ९६ करोड बजेट विनियोजन


जिल्लामा सडक तथा पुल निर्माणका लागि प्रदेश सरकारले ९६ करोड बढी बजेट विनियोजन गरेको छ । सडक, पुल निर्माण तथा मर्मत सुधारका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा ९६ करोड ९५ लाख ३० हजार रुपैयाँ बजेट बिनियोजन गरेको सडक पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ ।
कार्यालयका अनुसार जसमा सडक तथा पुल निर्माणका लागि ९० करोड १७ लाख, संघ ससर्त अनुदानतर्फ पुल निर्माणका लागि दुई करोड ४० लाख र सडक पुल मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रम ४ करोड ३८ लाख ३० हजार गरी जम्मा ९६ करोड ९५ लाख ३० हजार रुपैयाँ रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर तथा सूचना अधिकारी चन्द्रबहादुर शाहले जानकारी दिए ।
सूचना अधिकारी शाहका अनुसार यस वर्ष जिल्लामा सडक तथा पुल निर्माणका लागि १ सय २८ बढी साना तथा ठूला योजना रहेका छन् । “प्रदेश सरकारअन्तर्गत जिल्लामा साना ठुला गरेर एक सय बढी सडक तथा पुल निर्माणका योजना रहेका छन् ।
ती योजनामा ९६ करोड बढी बजेट रहेको छ,” सूचना अधिकारी शाहले भने, “जसमा प्रदेशको गौरवको आयोजनादेखि क्रमागत रूरुपमा रहेका पुराना साना तथा ठूला सडक लाइनमा छन् ।” उनका अनुसार आठवटा पक्की पुल निर्माणसम्बन्धी योजना छन् भने अधिकांस सडकसम्बन्धी कार्यक्रम रहेका छन् ।
सडकसम्बन्धी योजनामा नयाँ सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, नयाँ सडकको ट्रयाक खन्ने, सडक विस्तार, ग्राभेलसँगै कतिपय ठाउँमा सडक कालोपत्रे गर्ने योजना रहेको सूचना अधिकारी शाहले बताए । “जिल्लामा सडकसम्बन्धी धेरै योजना छन् । तीमध्ये कतिपय ठाउँमा नयाँ ट्रयाक खन्नेदेखि सडक कालोपत्रे गर्नेसम्मका छन्,” उनले भने, “जसका लागि कार्यालयले सूचना प्रकाशन गरेर टेन्डरको तयारीमा लागेको छ ।” जसमा सिमलतारा–मुलाबारी–हाँसीपुर हुँदै चैते जोड्ने सडक, तुलसीपुरमा गरगरेदेखि सुकौरा जोड्ने सडक, बिजौरी–संक्राम जोड्ने सडक, घोराही–मसिना–मर्पेस,पाखापानी, उजामीन्दर हुँदै प्युठानको स्वर्गद्धारी जोडने सडक, बखरिया–सरुवाडाडा–गोलटाकुरी सडक, पश्चिम दाङको हापुरे–गंगटे हुँदै कोहलपुर जोड्ने सडकलगायतका सडक योजना रहेको सूचना अधिकारी शाहले बताए ।

विकास बजेट खर्च न्यून
९६ करोड बढी बजेट रहेको प्रदेश पूर्वाधार विकास कार्यालयको खर्च भने न्यून देखिएको छ । चालू आर्थिक वर्षको कात्तिक महिनासम्म २ दशमलव ७० प्रतिशत अर्थात् ९६ करोड ९५ लाख ३० हजार रुपैयाँमध्ये सडक तथा पुल निर्माणका लागि दुई करोड ४५ लाख ८६ हजार रुपैयाँ मात्र खर्च भएको कार्यालयले जनाएको छ ।
उक्त रकम सडक तथा पुल निर्माणअन्तर्गत दुई करोड २० लाख ४३ हजार र सडक पुल मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रमअन्तर्गत २५ लाख ४३ हजार रुपैयाँ मात्र खर्च भएको सडक पूर्वाधार विकास कार्यालय सूचना अधिकारी चन्द्रबहादुर शाहले जानकारी दिए ।
सरकार परिवर्तन र विनियोजन गरेको बजेट ढिला आएका कारण कात्तिकसम्म बजेट खर्चको अवस्था कमजोर देखिएको बताइएको छ । “सरकार फेरबदलले गर्दा बजेट ढिला आउँदा खर्च कम देखिएको छ,” सूचना अधिकारी शाहले भने, “करिब एक सय बढी योजनामध्ये ४० वटा मात्र टेन्डरका लागि सूचना प्रकाशन गरेका छांै ।” उनका अनुसार बाँकी योजना अब छिट्टै नै टेन्डरका लागि प्रक्रियामा लगिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्