ओमिक्रोन भाइरसविरुद्ध सीमामा उच्च सतर्कतासँगै खोप अभियान «

ओमिक्रोन भाइरसविरुद्ध सीमामा उच्च सतर्कतासँगै खोप अभियान


कोरोना भाइरस संक्रमणको अर्को उत्परिवर्तन (ओमिक्रोन) भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जमा उच्च सतर्कता अपनाइएको छ ।
पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको उच्च जोखिममा परेको वीरगन्जमा अहिलेको नयाँ उत्परिवर्तन ओमिक्रोनको जोखिमबाट जोगिनका लागि सीमामा उच्च सतर्कता अपनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सीमा नाकामा भारतबाट आउनेको परीक्षणको व्यावस्था गरिनुका साथै १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै प्रभावकारी कार्यान्वयनका लागि सबैलाई मास्क अनिवार्य रूपमा लगाउन आग्रह गरिएको र कसैले अटेर गरेमा कारबाही स्वरुप जरिवानासमेत गरिने बताए ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का संयोजक तथा जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी सीमामा परीक्षण र जिल्लामा खोप अभियानलाई सँगसँगै सुरु गरिएको बताए । पर्सा जिल्ला कोरोना संक्रमणको पटकपटक केन्द्र बनिसकेको अवस्थामा नयाँ भेरियन्टको पनि उच्च जोखिममा रहेको आमसमुदायले समेत बुझ्नुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले नयाँ भेरियन्ट भित्रिन नदिन र भित्री हालेमा त्यस्ता संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहेको पनि बताए ।
२०७८ साउन यता पर्सामा खोप अभियान सञ्चालन भएको र हालसम्म एक लाख ३२ हजार १ सय २८ जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जानकारी दिए । उनका अनुसार नौ हजार ७ सय ६४ जनाले कोभिसिल्डको दुवै मात्रा, ६६ हजार तीन सय ७५ जनाले भेरोसिलको दुवै मात्रा, ३४ हजार ५ सय ७ जनाले जोनसन एण्ड जोनसनको एक मात्रा र २१ हजार ९ सय ८२ जनाले एस्ट्राजेनेकाको दुवै मात्रा लगाइसकेका छन् ।
१८ वर्षभन्दा माथिका ४ लाख ४५ हजार ३ सय ६८ जना लक्षित जनसंख्यामध्ये २ं९.६७ प्रतिशतले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरले बताए । जिल्ला खोप समन्वय समितिले पुस मसान्तसम्ममा ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्यसहित अभियान अगाडि बढाइएको खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।
जिल्लाका विभिन्न पालिकाहरु गरी १२९ वटा खोप केन्द्र तथा निजी अस्पतालहरूमा समेत खोप केन्द्र स्थापना गरी १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिन जिल्ला स्वास्थ्य कार्यालय पर्साको समन्वयमा विशेष खोप अभियान सञ्चालन गरिएको छ । पर्साको ग्रामीण क्षेत्रका स्थानीय तहमा खोपलाई खासै महत्व नदिएको पाइएको भन्दै स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अभियानलाई सफल बनाउन विभिन्न राजनीतिक दल, समाजसेवी, नागरिक समाज सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
पछिल्लो पटक १८ वर्षदेखि माथिका नौ किमिसका दीर्घ रोगीलाई लगाउने फाइजर खोप २५ हजार ७३ डोज आएकोमा त्यसमध्ये १० दिनमा २ सय ५६ जनाले मात्रै लगाएको ठाकुरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साले पनि समुदायमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनमूलक सन्देशसहित समुदाय प्रहरी साझेदारीमार्फत अभियान सुरु गरिएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्