Logo

सत्तारुढ दलहरू प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पक्षमा छैनन् : ओली


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दावी गरेका हुन् ।
मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको याचना गर्दै बालकोटस्थित आफ्नै निवासमा पुगेका नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताए । उनले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको भन्दै बचाउमा उभिएको तर्क समेत गरे । अनि कसरी उहाँहरुबाट महाअभियोग प्रस्ताव दर्ता हुन्छ ? उनको प्रश्न थियो ।
अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताए । उनले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरुलाई आग्रह गरे । उनले एकापक्षीय ढंगले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने दावी समेत गरे । अध्यक्ष ओलीले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाऊमा नलाग्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्