३३किलो सुन तस्करी प्रकरण, फरार सूचीमा रहेका गोरे समूहका गोपाल पक्राउ «

३३किलो सुन तस्करी प्रकरण, फरार सूचीमा रहेका गोरे समूहका गोपाल पक्राउ

त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस १ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए । दुबईमा बस्दै आएका अग्रवाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेकाहुन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहभागीभएको इन्टरपोलको महासभामा उनले अग्रवालसहित अन्य फरार आरोपीका विषयमा सम्बन्धित देशका सुरक्षा प्रमुखसँग छलफल गरेका थिए । पुगेको केही दिनमै दुबईबाट अग्रवाललाई नेपाल फिर्ता पठाइएको हो ।
सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चूडामणि उप्रेतीसमेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्यज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरू मध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’को समूहका अग्रवाललाई आपराधिक समूह स्थापना गरेर सुनको अवैध चोरी पैठारी र निकासी गरेको अभियोगमा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले जनाएको छ ।
विमानस्थलबाट पास भएपछि हराएको भनिएको ३३ किलो सुनमा अग्रवालको पनि लगानी रहेको सुन तस्करी छानबिन गर्न गठित समितिले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्