महिला हिंसा उन्मूलन नारामा सीमित «

महिला हिंसा उन्मूलन नारामा सीमित

नेपालमा महिला हिंसाको प्रहरीको तथ्यांक हेर्दा विगतमा बलात्कारका घटनाहरू थुप्रै भएको देखिएको छ । यो धेरै डरलाग्दो तथ्यांक पनि हो ।

नेपालमा दैनिक ६-७ जना बलात्कृत हुने गरेको नेपाल प्रहरी अनुसन्धान केन्द्रको तथ्यांकमा सार्वजनिक हुँदै आएको छ । मूलतः आर्थिक वर्ष २०७३-०७४ मा देशभर १ हजार ६ सय ६८ बलात्कारका घटना भएकोमा आर्थिक वर्ष २०७४-०७५ मा २ हजार २ सय ७ घटना प्रहरीमा दर्ता भएका थिए । त्यसरी नै आर्थिक वर्ष २०७५-०७६ मा अझै बढेर ३ हजार २४ घटना दर्ता भएका छन् । यसैगरी आर्थिक वर्ष २०७६-०७७ मा २ हजार ८ सय ३१ उजुरी दर्ता भएकामा आर्थिक वर्ष २०७७-०७८ मा ३ हजार २ सय ८४ घटनाको उजुरी परेको छ । त्यसरी नै प्रहरी तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै झन्डै १ हजार बलात्कारका मुद्दा दर्ता भइसकेका छन् । यसर्थ यो नारीमाथि हुने चरम घटना प्रत्येक वर्ष बढिरहेका छन् । यो खासगरीकन घरभित्रै पनि महिला असुरक्षित बनिरहेको तथ्यले झन् डरलाग्दो चित्र देखाउँछ । फलतः पछिल्ला पाँच वर्षमा महिला हिंसाका १८ हजार ४ सय २३ घटना प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये बलात्कारका उजुरी मात्रै १३ हजार १७ छन् । जुन हेर्ने हो भने समग्र उजुरीको ७०.६५ प्रतिशत हो ।
यसरी नै आर्थिक वर्ष २०७३-०७४ देखि २०७७-०७८ सम्म जबर्जस्ती करणीतर्फ ९ हजार ५ सय ३० र जबर्जस्ती करणी उद्योगतर्फ ३ हजार ४ सय ८७ उजुरी दर्ता भएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख गरिएको पाइन्छ । त्यसैगरी महिलामाथि भएको शोषणलाई सरसर्ती अवलोकन गर्ने हो भने बलात्कारपछि बहुविवाहका घटना धेरै छन् । यो अवधिमा देशभर ३ हजार ६ सय ५२ बहुविवाहका घटना भएका छन्, जुन कुल घटनाको १९.८२ प्रतिशत हो । जबकि, कानुनले पहिलो श्रीमतीसँग छोडपत्र गरेपछि मात्रै अर्को विवाह गर्न पाउने अधिकार दिएको छ । तर, एउटासँग घरबार हुँदाहुँदै अर्की श्रीमती भिœयाउनेको संख्या उल्लेख्य रहेको तथ्यांकले देखाउँछ । यद्यपि, महिला हिंसाको तेस्रो नम्बरमा बेचबिखनका घटना छन् । यसरी नै पाँच वर्षमा महिला बेचबिखनका १ हजार ६८ घटना प्रहरीमा दर्ता भएका छन् । यो कुल घटनाको ५.७९ प्रतिशत हो । यसमा सेक्स, जबर्जस्ती करणी, बलात्कार, सामूहिक बलात्कार र त्यसपछि हत्या भएको थियो । यसका साथसाथै महिला हिंसाविरुद्धको १६ दिने अभियानमा पछिल्ला पाँच वर्षमा महिलामाथि भएका हिंसाका १८ हजार ४ सय २३ उजुरी प्रहरीमा पुगेका छन् । यसमा सबैभन्दा धेरै हुने घरेलु हिंसाका घटना त प्रहरीमा नगण्य मात्र दर्ता हुन्छन् । यसमा पनि बलात्कारका घटना सबैभन्दा बढी रहेका छन्, जसमा अधिकांश घटना ठूलाबडाले मिलापत्रका नाममा गाउँघरमै दबाउँछन् भने प्रहरीसम्म पुगेका घटनामा पनि गतिलो अनुसन्धान हुँदैन । यसका साथसाथै बालविवाहका घटना ३ सय २६ वटा दर्ता भएका छन् ।
यसमा खासगरीकन तराई क्षेत्रमा बालविवाह बढी हुने गरेको छ । अतः मुलुकको कानुनले २० वर्ष नपुगी विवाह गर्न बर्जित गरेको छ । यसरी नै पाँच वर्षमा बोक्सी आरोपमा महिलामाथि भएको जघन्य अपराधका २ सय १० उजुरी दर्ता भएका छन् । यसै क्रममा अप्राकृतिक मैथुनका १ सय ३२ र यौन दुव्र्यहारका ८ उजुरी दर्ता भएका छन् । जसमा आफन्त, बिरामी, दुधे बालिकादेखि ९२ वर्षीया बवृद्धाको समेत बलात्कारीको सिकार हुने गरेको विभिन्न सञ्चारमाध्यमबाट स्पष्ट रूपमा पढ्न पाइन्छ । तर, ६० प्रतिशत बलात्कारचाहिँ १५ वर्षमुनिका बालिकाको भएको छ । यसमा पनि सरसर्ती हेर्ने हो भने खासगरीकन ११ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरू यसरी बलात्कारमा पर्न गएका छन् । यो समस्या दिनानुदिन विकराल हुँदै गएको छ ।
मुलुकको विगतलाई हेर्ने हो भने २०७५ साल साउन महिनामा कञ्चनपुरकी निर्मला पन्तदेखि गत साल माघ २१ गते २०७७ सालमा बैतडीकी भागरथीसम्म आइपुग्दा राष्ट्रमा ३ हजार ३ सय ४७ बालिकाहरू बलात्कृत भएका छन् । यसभित्रमा पनि अपराध लुकाउन १७ जना पीडितको हत्यासमेत भएको थियो । यो अढाई वर्षमा बलात्कारबाट पीडित ३ हजार ३ सय त बालिका मात्र हुन । यो बीचमा ६ हजार ८ सय ४४ जनाभन्दा बढीको बलात्कार भएको थियो । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् । यसरी मुलुकको पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक रहेको छ । त्यसपछि गत वर्ष बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको उनकै छिमेकी दाजुभाइ पर्ने किशोर दिनेश भट्टबाट बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । त्यस्तै अर्को घटना दुई वर्षअघि उखुबारीमा बलात्कारपछि हत्या गरिएकी उनको हत्यारा को हो भन्ने अझै पत्ता लाग्न सकेको छैन । यी घटनाले के स्पष्ट हुन्छ भने यो देशमा छोरीले स्वतन्त्रतापूर्वक बाँच्न पाउँदैनन् ।
नेपालमा महिला हिंसाको प्रहरीको तथ्यांक हेर्दा विगतमा बलात्कारका घटनाहरू थुप्रै भएको देखिएको छ । यो धेरै डरलाग्दो तथ्यांक पनि हो । यसमा कतिलाई कारबाही भयो, कति स्वतन्त्रपूर्वक महिला अधिकारका वकालत गर्दै नहोलान् भन्न सकिन्न । यति हुँदाहुँदै पनि सरकार भने बेखबर अवस्थामा रहेको देखिन्छ । जबकि बलात्कारजस्तो जघन्य अपराधमा अपराधीले सहजै उन्मुक्ति पाइरहेको छ । यसैगरी सडकमा दिनहुँजसो बलात्कार र महिला हिंसाका विरुद्ध आवाज उठे पनि त्यसलाई ठोस रूपमा लिएको देखिँदैन । यसका केही ज्वलन्त उदाहरणहरू छन् । जसलाई सञ्चारमाध्यमका अधिकारकर्मीहरूले जोडसँग आवाज उठाउँदै आएका छन् ।
यसमा देशका सामान्य मानिसदेखि उच्च तहका मानिसहरू बलात्कारका घटनामा मुछिएको समाचार दिनहुँ आउनुले पनि महिलाप्रतिको हेराइमा बाहिर जति राम्रो भने पनि भित्री मनमा खराब भावनाले काम गरेको पाइन्छ । वस्तुतः महिला भनेका भोग्य वस्तु हुन् भन्ने मानसिकता केही पुरुषमा कायमै रहिरहेकाले पनि आज बलात्कारका घटनामा कमी नआएको हो । यसका साथसाथै निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा महिला सांसदहरूले हत्यारा पत्ता लगाउन एकै आवाजमा सभाहल घन्काएका थिए भने रोशनी शाहीको केसमा भने महिला सांसदहरू मौन रहेका थिए । यसले के देखाउँछ भने सत्ता र शक्तिको चंगुलमा अझै नेपाली माहिलाहरू रुमल्लिरहेका छन् भन्ने बुझिन्छ ।
समग्रमा भन्नुपर्दा हाम्रो समाजमा बलात्कार रातारात कतैबाट निर्यात गरिएको आयातित वस्तु होइन, वर्षौंवर्ष खर्चिएर यही समाज, राजनीतिक दल, राज्य र व्यवस्थाद्वारा निर्माण गरिएको मानसिकताको उपज मात्र हो । यस्तो किसिमको घटना नियन्त्रण हुनुभन्दा बढ्दै गएको छ । यस्ता किसिमका विगतमा भएका पीडादायक कुराले पीडितलाई भन्दा पीडकलाई सहयोग पुग्दै गएको छ । यसरी छिमेकी, आफन्त वा परिवार पनि बलात्कार हुने गरेको घटना बाहिरिने गरेका छन् । यसर्थ बलात्कारका घटना हाम्रो समाज कति क्रूर बन्दै छ । यसरी हरेक छोरी, बुहारी, आमा र हजुरआमाहरू पलपलमा बलात्कारका सिकार हुँदै छन् । हामी बस्ने समाजभित्र र त्यो निकृष्ट कार्य गर्दै छन् । हाम्रै समाजभित्रबाट, आखिर यस्तो किसिमको घटना कहिलेसम्म हुने हो ।
अतः यस्ता किसिमका बालबालिकाहरूले आफ्नो आवाज दबाएर पीडा सहेर बस्नुबाहेक उनीहरूसँग विकल्प पनि छैन । यसमा जति कानुन बने पनि, नारीहरूका लागि जति अधिकारका कुरा गरे पनि ती सबै कागजपत्र र कुराहरूमा मात्रै सीमित भएका छन् । देशमा भने हुनेखानेहरूकै बोलवाला रहेको छ, जहाँ न्याय पनि पैसामा बिक्छ । यसर्थ धनीहरू पैसाले कानुन र न्यायलाई किनिरहन्छन् । यसरी निमुखा गरिबहरू तारिख खेप्दाखेप्दै मरिहाल्छन् । यो एक्काइसौं शताब्दीसम्म पनि नारीले यसरी खुम्चेर रहनुपर्ने अवस्था निश्चय पनि खेदजनक हो । नारी सुशिक्षित, सक्षम र सबल हुने वातावरण नबनेसम्म जस्तोसुकै कानुनी व्यवस्था पनि प्रभावकारी हुने देखिँदैन । यसतर्फ भने सरकारको ध्यान कता छ ? महिला हिंसा उन्मूलनका नाराहरू के ब्यानरमा मात्रै सीमित हुन् त, अनि नारीहरू कहिलेसम्म असुरक्षित हुने हो ?

प्रतिक्रिया दिनुहोस्