कर्णाली र सुदूरपश्चिममा लघु–घरेलु उद्योग दर्ता निराशाजनक «

कर्णाली र सुदूरपश्चिममा लघु–घरेलु उद्योग दर्ता निराशाजनक

आर्थिक विकासमा निकै पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा लघु तथा घरेलु उद्योग व्यवसाय दर्ताको अवस्था पनि कमजोर छ । उद्योग विभागका अनुसार कर्णालीमा हालसम्म पाँच प्रतिशत र सुदूरपश्चिममा सात प्रतिशत मात्र लघु तथा घरेलु उद्योग दर्ता भएका छन् ।
विभागले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार सबैभन्दा बढी उद्योग व्यवसाय दर्ता बागमतीमा रहेको छ । बागमतीमा ३२ प्रतिशत तथा दोस्रोमा लुम्बिनीमा १७ प्रतिशत लघु घरेलु उद्योग दर्ता भएका छन् । यस्तै, प्रदेश १ तथा दुईमा १४-१४ प्रतिशत र गण्डकीमा ११ प्रतिशत उद्योग दर्ता भएको विभागले सार्वजनिक गरेको लघु घरेलु तथा साना उद्योग तथ्यांक २०७८ मा उल्लेख छ ।
विभागका अनुसार बागमतीमा दर्ता भएका उद्योगको संख्या १ लाख ६९ हजार ८ सय ३४ रहेको छ भने लुम्बिनीमा ८९ हजार ७ सय ५४, प्रदेश १ मा ७६ हजार ७ सय ९० लघु घरेलु उद्योग दर्ता भएका छन् । यस्तै, प्रदेश १ मा ७३ हजार ९ सय ७८ तथा गण्डकीमा ५६ हजार ३ सय ८३ उद्योग दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने जम्मा ३९ हजार ७ सय ७८ र कर्णाली प्रदेशमा २६ हजार ९ सय ५९ लघु घरेलु उद्योग दर्ता भएका छन् ।
विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभागले उद्योग दर्ता र नवीकरणको आधारमा यो एकीकृत तथ्यांक सार्वजनिक गरेको हो । बागमती प्रदेशमा जनसंख्या र बजार बढी भएका कारण बढी उद्योग दर्ता हुनु स्वाभाविक भएको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा लघु घरेलु उद्योगले अर्थतन्त्रमा ठूलो योगदान पु-याउने तथा अर्थतन्त्रको दिगो विकास गर्ने भएकाले यसलाई देशैभर विस्तार गर्नुपर्ने बताउँछिन् । “मुलुकका एकै स्थानमा मात्र औद्योगिक विकास भएर हुँदैन,” राणा भन्छिन्, “तीनवटै तहका सरकारले आकर्षक कार्यक्रम ल्याएर लघु घरेलु उद्योग व्यवसायलाई विकेन्द्रित गर्नु जरुरी छ ।”
वित्तीय क्षेत्र विकास रणनीति, २०७४—२०७७-०७८ अनुसार नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान गरेका छन् । यस्तै यी उद्योगबाट झन्डै १७ लाख रोजगारी सिर्जना भएको छ । संसारका कतिपय उदीयमान मुलुकहरुमा एसएमइहरुले कुल रोजगारीमा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशतसम्म योगदान गरेको पाइन्छ ।
विभागको तथ्यांकअनुसार मुलुकमा स्थापना भएका ४ लाख ८७ हजार ६ सय ४३ उद्योगमध्ये सेवामूलक उद्योगको संख्या सबैभन्दा उच्च १ लाख ७८ हजार ६ सय ६२ संख्यामा रहेको छ । दोस्रो स्थानमा रहेको कृषि तथा वनजन्य उद्योगको दर्ता तथा नवीकरण संख्या १ लाख ३९ हजार १ सय ७६ रहेको छ भने उत्पादनमूलक उद्योग तेस्रो स्थानमा रहेको छ । यस्तै, उत्पादनमूलक उद्योगको संख्या १ लाख ७ हजार ७ सय ७९ रहेको छ भने पर्यटनतर्फ ५० हजार ९ सय ४० तथा निर्माणतर्फ ९ हजार ६ सय ८ उद्योग दर्ता तथा नवीकरण भएका छन् । विभागले ऊर्जातर्फ ५ सय ८३ लघु घरेलु उद्योग दर्ता हुँदा खनिजतर्फ ४ सय ८३ र सूचना प्रविधिका क्षेत्रमा ४ सय १२ उद्योग दर्ता र नवीकरणसहित अद्यावधिक भएको तथ्यांक सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्