नेपालले लिने भयो आईएमएफसँग ऋण «

नेपालले लिने भयो आईएमएफसँग ऋण


भुक्तानी सन्तुलनमा दबाब बढ्दै गएपछि नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४८ अर्ब रुपैयाँ ऋण लिने भएको छ । घट्दो रेमिट्यान्स तथा वैदेशिक लगानी अनि बढ्दो व्यापार घाटाका कारण पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएको छ । साथै, भुक्तानी सन्तुलनमा पनि चाप देखिन थालेपछि सरकारले ईसीएफअन्तर्गतको ऋण लिने तयारी गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार असोजमा भुक्तानी सन्तुलन ७६ अर्ब १४ करोडले घाटामा छ भने असोजसम्ममा विदेशी मुद्राको सञ्चिती पनि घटेर १० अर्ब ९८ करोड डलर रहेको छ ।
आईएमएफको विज्ञप्तिअनुसार नेपालले एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) मार्फत ४० करोड अमेरिकी डलर ऋण लिनका लागि सम्झौता भएको हो । शर्तसहितको यस्तो ऋण ३८ महिनाका लागि उपलब्ध गराउन लागिएको पनि आईएमएफको विज्ञप्तिमा जनाइएको छ ।
आईएमएफका मिसन प्रमुख रोबर्ट ग्रेगरीसहितको टोलीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग पटक पटक छलफल गरेपछि ईसीएफ सुविधा अन्तर्गत ऋण लिन लागेको हो । ग्रेगोरीसहित आईएमएफको टोली गत ३ कात्तिकदेखि १२ कात्तिकसम्म, १ मंसिरदेखि २ मंसिरसम्म तथा १४ मंसिरदेखि १६ मंसिरसम्म गरी तीन पटकसम्म नेपाली अधिकारीहरुसँग वार्तामा रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । पछिल्लो पटक आईएमएफको टोलीले अघिल्लो साता अर्थमन्त्री जनार्दन शर्मालाई भेटेपछि नेपालले ईसीएफ सुविधाअन्तर्गत ऋण लिने निश्चित भएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । “तर, ऋण आईएमएफको कार्यकारी समितिबाट स्वीकृत हुन बाँकी छ,” स्रोतले बतायो । कोषको व्यवस्थापन र कार्यकारी समितिले अनुमोदन गरेपछि नेपालले यो ऋण सुविधा पाउनेछ । कोरोना कहरका कारण अर्थतन्त्र शिथिल हुन थालेपछि नै नेपालले यो ऋण सुविधा लिनका लागि आईएमएफसँग छलफल गरिरहेको थियो ।
नेपालले लिन लागेको ईसीएफ सुविधाबाट कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्र उकास्न, जोखिममा रहेका समूहलाई सुरक्षा गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व जोगाउन र गरिबी न्यूनीकरणका विभिन्न कार्यक्रममा खर्च गर्ने प्रतिवद्धता जनाइएको पनि आईएमएफको विज्ञप्तिमा उल्लेख छ । साथै, राजस्व र सार्वजनिक खर्च बढाउन, वित्तीय क्षेत्र नियमन, सुपरीवेक्षण र आर्थिक पारदर्शिता कायम गर्न कार्यान्वयन गरिने विभिन्न कार्यक्रमका लागि पनि उक्त ऋण नेपालले लिन लागेको विज्ञप्तिमा उल्लेख छ । यसअघि २०७७ साल वैशाखमा पनि आईएमएफले नेपाललाई २६ अर्ब रुपैयाँ ऋण सहयोग दिएको छ ।

प्रतिक्रिया दिनुहोस्