एनटीआईएसमा परेका उत्पादनको निर्यात घट्दै «

एनटीआईएसमा परेका उत्पादनको निर्यात घट्दै

एकीकृत व्यापार रणनीति (एनटीआईएस) भित्र रहेका उत्पादनको निर्यात घट्दै गएको छ ।
कोभिडको असर र उत्पादन कम भएकाले निर्यातमा कमी आएको हो ।
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार एनटीआईएसभित्र परेको उत्पादनको निर्यातमा कमी आएको छ । छालाका कपडा, कार्पेट, फुटवेयरको निर्यात घटेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दुर्गाराज भुसालले उत्पादन कम भएकाले निर्यातमा कमी आएको बताए । एनटीआईएसभित्र परेका उत्पादनको निर्यात किन घट्यो भनेर अध्ययन गरिरहेको उनको भनाइ छ ।
केन्द्रका अनुसार, आव २०७६-०७७ मा १६ करोड ४९ लाख ३६ हजा रुपैयाँ बराबरका लेदरका कपडा निर्यात भएकोमा आव २०७७-०७८ मा घटेर १४ करोड ७३ लाख ७७ हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै आव २०७६-०७७ मा ७५ करोड ३९ लाख ४१ हजार रुपैयाँको फुटवेयरका सामान निर्यात भएकोमा आव २०७७-०७८ मा घटेर ७१ करोड ६३ लाख ६६ हजार रुपैयाँमा झरेको हो ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७३-०७४ मा ३२ अर्ब ३२ करोड ९१ लाख ९२ हजार रुपैयाँको निर्यात भएकोमा आव २०७४-०७५ मा बढेर ३६ अर्ब २६ करोड ९६ लाख ७३ हजार पुगेको थियो । यस्तै आर्थिक वर्ष २०७५-०७६ मा ३७ अर्ब १८ करोड ७३ लाख ४ हजार रुपैयाँको निर्यात भएको थियो । आव २०७६-०७७ मा घटेर ३० अर्ब ११ कोड ५५ लाख ७४ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ । आव २०७७-०७८ मा ३७ अर्ब ४४ करोड ८१ लाख ९९ हजार रुपैयाँको एनटीआईएका उत्पादन निर्यात भएको केन्द्रको तथ्यांक छ ।
आर्थिक वर्ष २०७७-०७८ मा मुलुकबाट एक खर्ब ४१ अर्ब १२ करोड चार लाख रुपैयाँको निर्यात भएको थियो । जसमा ३७ अर्ब रुपैयाँका सामान एनटीआईएका थिए । कुल निर्यातमा एनटीआईएसका उत्पादनको सेयर २६.३८ प्रतिशत रहेको छ । निर्यात घट्दै गएकाले कुल निर्यातमा एनटीआईएसका उत्पादनको सेयर पनि घट्दै गएको छ । विशेषगरी लेदरका सामान, फुटवेयर कार्पेटको उत्पादन घटेकाले नियार्त बढ्न सकेको छैन । अलैंची, अदुवा, चिया, जडिबुटी, पस्मिनाको निर्यात भने बढेको छ ।
एनटीआईएसअन्तर्गत अलैंची , अदुवा, चिया, जडिबुटी, फे्रबिक, लेदर, फुटवेयर, पस्मिना र कार्पेट छन् । सरकारले स्वदेशी वस्तुको पहिचान गरेर निर्यात गराउने लक्ष्यसहित नौवटा उत्पादन र तीन सेवा क्षेत्रलाई एनटीआईएस कार्यक्रमअन्तर्गत राखेको थियो । स्न २०१६ मा सुरु भएको सो कार्यक्रम पाँच वर्षमा सकिसकेको छ । कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधिजन्य जडिबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पस्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको जनाएको छ । एनटीआईएस कार्यक्रम सकिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयल यसलाई पुनरावलोकन गर्न लागेको छ ।
स्वदेशी वस्तुको निर्यात वृद्धि गरी मुलुकमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित २०१६ मा ५ वर्षका लागि ल्याइएको रणनीतिको समय सकिएपछि यसलाई पुनरावलोकन गर्न लागिएको हो । एनटीआईएस कार्यक्रममा समावेश गरिएका वस्तुलाई थपघट गरी पुनरावलोकन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा कुन कुन वस्तुको माग बढी छ, कुन वस्तुको निर्यात बढिरहेको छ, त्यसलाई अध्ययन गरेर रणनीतिमा नयाँ वस्तु थप गरिने मन्त्रालयले जानकारी दिएको छ । निर्यात न्यून भएका वस्तुलाई हटाएर नयाँ वस्तु राखिने गरी अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्