Logo

बिमाको पहुँच बढाउन प्रदेश सरकारसँग छलफल


पहुँच विस्तार गर्नका लागि बिमा समितिले प्रदेश सरकारहरूसँग छलफल सुरु गरेको छ । प्रदेश तथा स्थानीय सरकारका नीति तथा कार्यक्रममा बिमा सेवालाई समेत जोडेमा बिमाको पहुँच वृद्धि हुने भन्दै समितिले छलफल अघि बढाएको हो ।
प्रवक्ता निर्मल अधिकारीका अनसार, समितिले प्रदेश एक, २ र बागमती प्रदेश सरकारसँग छलफल गरिसकेको छ । बिमाको पहुँचलाई व्यापाक बनाउनका लागि प्रदेश तथा समितिबीच सहकार्यका विषयमा छलफल केन्द्रित भएको थियो ।
समितिले चालू आर्थिक वर्षभित्र एक सय स्थानीय तहसँग बिमा सेवासम्बन्धी छलफल गर्ने योजना बनाएको छ । यसै योजनाअन्तर्गत हालसम्म दुई दर्जनभन्दा बढी स्थानीय तहका प्रमुखसँग छलफल भएको समितिले जनाएको छ ।
सम्पत्ति बिमा, कृषि तथा पशु बीमा र लघु बिमा विस्तारका लागि स्थानीय तहहरूको भूमिका महत्वपूर्ण हुने भएकाले स्थानीय सरकारसँग लबिङ गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । “पालिकाहरूले आफ्ना कार्यक्रममा बिमालाई पनि टाइअप गर्ने हो भने बिमाको पहुँच विस्तार हुन्छ,” पौडेलले भने, “यसका लागि समिति आफैले प्रदेश तथा स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत उच्च अधिकारीसँग भेटघाट तथा छलफल सुरु गरेका हौं ।”
छलफलमा समितिले घरनिर्माणको नक्सा पास गर्दा, विभिन्न व्यवसायको दर्ता तथा नवीकरण गर्र्दा बिमालाई अनिवार्य गर्न र यसका लागि कर छुटलगायतका प्रोत्साहनका व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।
हाल सरकारले सवारीसाधनको तेस्रो पक्षको बिमा र वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि म्यादी जीवन बिमा अनिवार्य गरेको छ । यसबाहेक बैैंकबाट ऋण लिनका लागि पनि धितोको बिमा अनिवार्य छ ।
बिमालाई प्रोत्साहन गर्नका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरी कृषि तथा पशुपन्क्षी बिमा गर्दा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । यसैगरी जीवन बिमा गर्दा वार्षिक २५ हजार रुपैयाँसम्म प्रिमियमका लागि करकट्टी गर्न पाउनेसमेत सुविधा दिँदै आएको छ ।
समितिका अनुसार २०७८ कात्तिकसम्ममा २६ प्रतिशत नेपाली बिमाको पहुँचमा छन् । यस अवधिसम्ममा जीवन बिमा कम्पनीहरूले ९५ लाख ७ हजार ४ सय २१ बिमालेख बिक्री गरी ४८ अर्ब ३२ करोड ८६ लाख बिमाशुल्क उठाएका छन् । यसैगरी निर्जीवन बिमा कम्पनीहरूले पनि ९ लाख ८५ हजार ९४७ बिमालेख बिक्री गरी १२ अर्ब ५८ करोड २८ लाख बिमाशुल्क आर्जन गरेका छन् ।
हाल २० वटा जीवन बिमा, १९ निर्जीवन बिमा र दुई वटा पुनर्बिमा कम्पनी गरी ४१ वटा कम्पनीले व्यवसाय सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्