कार्गाेमा पनि विदेशी लगानी «

कार्गाेमा पनि विदेशी लगानी

-फ्रेट फरवार्डस् एसोसिएसनको विरोध 

मुलुकमा ठूलो परिमाणको विदेशी लगानी आवश्यक परिरहेको बेला सरकारले भने स्वदेशी व्यवसायीलाई नै असर पर्ने गरी कार्गाे क्षेत्रमा सानो लगानी स्वीकृत गरेको छ । उद्योग विभागले ५० लाखदेखि २ करोड रुपैयाँसम्मका पुँजी भएको कार्गाे कम्पनीलाई स्वीकृति दिएको पाइएको छ । हालसम्म आधा दर्जन भारतीय तथा चिनियाँ कम्पनीलाइ यस्तो स्वीकृति दिइसकेको पाएपछि स्वदेशी व्यवसायीले भने यसको विरोध गरेका छन् ।
व्यवसायीहरूले कार्गाे क्षेत्रमा सानो परिमाणका वैदेशिक लगानी रोक्न उद्योगसचिव यामकुमारी खतिवडा, वाणिज्य तथा आपूर्तिसचिव केदारबहादुर अधिकारीलगायतलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत ध्यानाकर्षण गराउँदै नेपाल फ्रेट फरवार्डस् एसोसिएनले स्वदेशी लगानीलाई हतोत्साहित नगर्न आग्रह गरेको छ ।
एसोसिएसनले विदेशी लगानीका नाममा कार्गाे क्षेत्रमा सानो लगानीलाई प्रोत्साहन नगर्न आग्रह गरेको हो । कार्गाे व्यवसाय उद्योग नभइ सेवाकेन्द्रित व्यवसाय भएको र त्यसका लागि नेपाली व्यवसायी नै सक्षम भएकोले विदेशी लगानी यस क्षेत्रमा स्वीकृत गर्न आवश्यक नभएको एसोसिएसनले जनाएको छ । सेवा क्षेत्रका व्यवसायमा विदेशी लगानी भित्र्या उँदा विदेशी नागरिकको नाममा कम्पनी दर्ता गर्दा स्वदेशी लगानीलाई प्रत्यक्ष असर पर्ने व्यवसायीहरूको भनाइ छ ।
विदेशी मुद्रा अपचलन हुने, राजस्व संकलनमा समेत असर पर्ने, अनधिकृत व्यापार बढ्नुका साथै राज्यको सुरक्षा व्यवसायलाई पनि असर पार्ने भन्दै व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका हुन् । “२ करोड लगानीका लागि स्वदेशी लगानीकर्ता नै सक्षम छन्, त्यसका लागि विदेशी लगानीकर्ता गुहार्नु आवश्यक छैन,” एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्की भन्छन्, “विदेशी लगानीका नाममा जभाभावी सानो कम्पनीलाई स्वीकृति दिनु हुँदैन भनेर हामीले ध्यानाकर्षण गराएका हौं ।”
कार्गाे व्यवसाय मूलतः सेवामूलक क्षेत्र भएको र नेपाली व्यवसायीहरूद्वारा विगत लामो समयदेखि अन्तर्राष्ट्रिय सेवा प्रवाह गरिरहेको, यसलाई सञ्चालन गर्नका लागि आर्थिक तथा प्राविधिक रुपमा नेपाली व्यवसायीहरू नै सक्षम भएकोेले विदेशी नागरिकको नाममा कम्पनी दर्ता नगर्न आग्रह गरको छ ।

प्रतिक्रिया दिनुहोस्