आर्थिक एजेन्डामा समान दृष्टिकोण बनाउन ढकालको आग्रह «

आर्थिक एजेन्डामा समान दृष्टिकोण बनाउन ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेन्डामा सबै राजनीितक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोरोना माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्र दू्रत गतिमा पुनरुत्थान गर्न सबै दलको समानधारणा आवश्यक पर्ने बताए ।
“अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न, सबै मिलेर यसलाई दू्रत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन” उनले भने, “यसका लागि सबै दलको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ ।”
उनले अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभावबाट बच्दै आर्थिक तथा व्यावसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्पन भएको बताए । लुम्बिनी प्रदेश मुलुककै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए ।
उनले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तव्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनामा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणसँग समेत सहकार्य हुने बताए ।
“हामीले सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तव्यहरु निर्माण गर्न गइरहेका छौं” उनले भने, “यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारण समेत साझेदारी र सहकार्य हुनेछ ।” कोभिड महामारीले मुलुकमा चुनौती मात्र नभइ यसले नयाँ नयाँ अवसरका ढोका पनि खोलेको ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्