सहुलियत कर्जाका लागि १५० उद्यमी छनोट «

सहुलियत कर्जाका लागि १५० उद्यमी छनोट


तिला गाउँपालिकाका १ सय ५० जना नवउद्यमी सहुलियत कर्जाका लागि छनोट भएका छन् ।
आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन वृद्धिका साथै जीविकोपार्जन सुधारका लागि सहुलियत कर्जाका लागि १ सय ५० नवउद्यमी छनोट गरिएको हो । तिला गाउँपालिकाले चालु आवमा नविल बैंक, राष्ट्रिय युवा परिषद र पालिकाकै त्रिपक्षीय सम्झौता तथा समन्वयमा आर्थिक समृद्धिका लागि नव उद्यमी छनोट गरी सहुलियत कर्जा प्रवाह गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
तिला गाउँपालिकाका १ सय ५० जना उद्यमीले विभिन्न व्यवसाय उद्यम सञ्चालनका लागि १४ करोड बढीको सहुलियत कर्जा पाउने छन् । कम्तीमा १० लाखदेखि करोडसम्म पनि कर्जा रहेको छ ।
जसमा सहुलियत कर्जाका लागि तिला गाउँपालिकाका ९ वटै वडाका ६ सय ३२ जना महिला, युवा तथा अन्य नागरिकले फर्म भरेका थिए । ती मध्ये व्यवसायको प्रकृति उद्यमी योग्यता क्षामतालाई मध्यनजर गर्दै सहुलियत कर्जाका लागि १ सय ५० जना उद्यमी छनोट भएको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए ।
“सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न आर्थिक समृद्धि बिना सम्भव छैन । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मात्रै समृद्धि हासिल हँुदैन” उनले भने, “जबसम्म हरेक घरमा उद्यमी, आर्थिक विकासमा सक्रिय जनशक्ति हुनै पर्छ । त्यसैले उद्यमशीलता विपन्न नागरिकको जीवन सुधार आर्थिक विकास गर्ने लक्ष्यका साथ सहुलियत कर्जा कार्यक्रम अघि बढाएका छांै ।”
नवउद्यमी छनोटमा दलित, महिला र युवालाई बढी प्रथामिकता दिइएको छ । सहुलियत कर्जाले तिलाका महिला, युवाहरु जिल्लाकै नमुना उद्यमी बनेर देखाउने अध्यक्ष योगीले विश्वास व्यक्त गरे ।
तिला गाउँपालिका भौगोलिक हिसाबले विकट भएपनि उद्यमीशता र व्यावसायिकता हिसावले प्रचुर सम्भावना भएको पालिका हो । भेडा, बाख्रा, खरायो पालन, कृषि व्यवसाय, अर्गानिक कोसेली घर सञ्चालन, सिलाइ कटाइ, हाते होजियारी, व्यवसाय, सिमी उत्पादन, व्यावसायिक स्याउ र ओखर खेतीलगायतका व्यवसाय गर्ने भनी प्रस्ताव पेश गरेका उद्यमीहरु सहुलियत कर्जाका लागि प्रथामिकतामा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर रावलले बताए ।

नव उद्यमीलाई ७ दिने तालिम
सहुलियत कर्जाका लागि छनोट भएका १ सय ५० जना नव उद्यमीलाई एक साता तालिम दिइने भएको छ । उद्यमीलाई वित्तीय साक्षरता, व्यवसाय, उद्योग सञ्चालन प्रक्रिया, सहुलियत कर्जा प्रक्रियालगायतका विषयमा सचेत गराउन तालिमको आयोजना गरिएको हो ।
तालिममा राष्ट्रिय युवा परिषदका प्रतिनिधि श्यामकाजी खत्री र नबिल बैंक कर्णाली प्रदेशका प्रमुख गोपी पाण्डे, सहुलियत कर्जा सहजीकरण तथा उद्यमशीलता वित्तीय साक्षर कार्यक्रका लागि जुम्ला पुगेका छन् ।
छनोट भएका उद्यमीले नमुना काम गरेको खण्डमा १४ करोड मात्र नभइ आवश्यकता अनुसार अर्बसमेत लगानी गर्ने राष्ट्रिय युवा परिषदका प्रतिनिधि खत्रीले बताए । बैंकको कर्णाली प्रदेशका प्रमुख पाण्डेले बैंकको लक्ष्य नाफा कमाउनु मात्र नभइ सामाजिक उत्तरदायित्व पनि भएकाले उद्यमशीलता विकासमा लगानी गरेको उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले नागरिकको आयआर्जन बिना आर्थिक समृद्धि सम्भव नभएकाले उद्यमशीलता विकासका लागि गाउँपालिकाले थालेको कार्यक्रम प्रंशसनीय रहेको बताइन् । सोमबार वित्तीय साक्षरता कार्यक्रम उद्घाटनका क्रममा तिला गाउँपालिका र नबिल बैंकबीच सम्झौता पत्र हस्तान्तरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्