आवाससहितको पर्यटन पूर्वाधार विकास गर्न जोड «

आवाससहितको पर्यटन पूर्वाधार विकास गर्न जोड


म्याग्दीमा रहेका पर्यटकीयस्थलमा आवाससहितको पर्यटन पूर्वाधार विकास गर्न आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेलले पहिचान भएका पर्यटकीय संस्थमा पर्यटकको बसाइ लम्ब्याउन आवाससहितको पूर्वाधार निर्माण गर्न म्याग्दीका स्थानीय तह एवं पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्् ।
म्याग्दी पर्यटकीयस्थल टोड्के घुम्न आएको टानका टोलीसँंग म्याग्दी उद्योग वाणिज्य सघंले गरेको स्वागत एवं भेटघाट कार्यक्रममा प्रबन्धक पोखरेलले घुम्न आउने पर्यटकलाई आनन्द हुने गरी सडक, पदमार्ग, चौतारी, बगैंचाहरू निर्माणसंँगै सरसफाइमा ध्यान दिन म्याग्दीका पर्यटन व्यवसायीलाई सुझाव दिएका थिए ।
पछिल्लो समय पर्यटकीयस्थलमा आउने पर्यटकको बसाइ छोटिँदै गएको बताउँदै नयाँ गन्तव्य पहिचानसँंगै आवश्यक पूर्वाधार संरचनामा ध्यान दिनुपर्ने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अध्यक्ष सञ्जय सिग्देलले पोखरा केन्द्रित पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्यको सम्भावना उजागर गर्न भ्रमण आवश्यक रहेको बताए ।
घोडेपानी पुनहिलसँंगै म्याग्दीका पहिचान भएका अन्य पर्यटकीय क्षेत्रको सम्भावना उजागर गर्न सहकार्य आवश्यक रहेको उनको भनाइ छ । पर्यटक भुलाउने विभिन्न सुविधासहित आवासको सुविधाले पोखरामा पर्यटक बढेको जानकारी गराउँदै भ्युटावरलगायतका अन्य सुविधासहित मुख्य आवासको सुविधा पर्यटकीयस्थलमा विकास गर्न सके पर्यटक आउने बताए ।
टानको भ्रमणको उद्देश्य पोखरासहित नजिकका पर्यटकीयस्थलको सम्भावना उजागर गर्न आवाससहितको सुविधा विकास भएको पर्यटकीयस्थल टोड्के रोजेको बताए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले म्याग्दीमा मुस्ताङ जाने पर्यटकलाई रोक्ने किसिमले पहिचान भएका खोपारा, टोड्के, रुईसे, झाँक्रापानी, सिंगालगायतका क्षेत्रमा आवाससहितको पर्यटन पूर्वाधार निर्माण पर्यटन व्यवसायीले लगानी गरेको बताए । घोडेपानी, खोपारा, टोड्के, सिंगातातोपानी र भुरुङ तातोपानीमा आवासको सुविधाले पर्यटक बढे पनि अन्य क्षेत्रमा बसाइ लम्ब्याउने पूर्वाधार निर्माणमा प्रयास र लगानीका लागि छलफल भएको जानकारी गराए ।
पहिचान भएका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न विगतमा म्याग्दी भ्रमण वर्ष आयोजना गरिएको बताए । संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले सडक विस्तारले पदमार्ग मासिँदै जादाँ पदमार्ग केन्द्रित होटल ब्यवसायी धरासायी बनेको जानकारी गराउँदै यसप्रति टानले ध्यान दिनुपर्ने सुझाव दिए । धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मानापाथी, गुर्जालगायतका हिमाल रहेको म्याग्दीमा आवाससहितको पर्यटन पूर्वाधार पर्यटकीस्थलमा योजनाबद्ध रुपमा विकास नहुदाँ पर्यटन व्यवसायलाई आम्दानीको स्रोतको रूपमा स्थानीयले विकास गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्