८ हजार चिनियाँ इन्डक्सन अझै गोदाममा

भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन)को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन । मुलुकमा नियमित विद्युत प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन नसकेको हो ।
१२ हजार मूल्य पर्ने चुल्होलाई मूल्य घटाएर ४ हजारमा बिक्री गर्ने गरिए पनि अहिलेसम्म २५ प्रतिशतभन्दा बढी बिक्री हुन सकेको छैन । सरकारले समयमै मूल्य घटाएर बिक्री नगर्दा अनुदानको चुल्हो बिक्री हुन नसकेको हो । बजारमा यसभन्दा पनि सस्तो मूल्यका इन्डक्सन पाइने भएकाले ग्राहकको आर्कषण यसमा हुन सकेको छैन । सरकारले बिक्री खुला गरेको आठ महिना बितिसक्दा पनि ३ हजार ५ सय ३० वटामात्र बिक्री भएको नेशनल ट्रेडीङ लिमिटेडले जानकारी दिएको छ ।
लिमिटेडका वरिष्ठ अधिकृत श्यामकुमार श्रेष्ठले मूल्य घटाएर बिक्री खुला गरे पनि सो चुल्होप्रति ग्राहकको आर्कषण नहुँदा बिक्री हुन नसकेको बताए । बजारमा सस्तो चुल्हो पाइने हुँदा मूल्य घटाउदा पनि धेरै बिक्री हुन सकेन,” उनले भने, “अहिलेसम्म ३ हजार ५ सय ३० वटा चुल्होमात्र बिक्री भएको छ ।”
हालसम्म ७ हजार ७ सय ७० वटा चुल्हो बिक्री हुन नसकी टेकुस्थित लिमिटेडको गोदाममा अलपत्र परेका छन् । चीन सरकारले पहिलोपटक १ हजार ३ सय र दोस्रो पटक गरेर १० हजार गरी ११ हजार ३ सय चुल्हो उपलब्ध गराएको थियो । बजार मूल्यभन्दा चार गुणा मूल्य राखेपछि लामो समयसम्म बिक्री नभइ गोदाममा थन्किएको थियो । अनुदानमा चुल्हो आएको दुई वर्ष बितिसक्दा पनि सरकारले समयमा उपयुक्त मूल्यमा बिक्री नगर्दा अहिलेसम्म बिक्री नभइ अलपत्र अवस्थामा परेको हो । बजारमा ३ हजार हजार ५ देखि ५ हजार ५ सय रुपैयाँमा चुल्हो पाइने भए पनि सरकारले अनुदानमा आएको चुल्होको १२ हजार मूल्य निर्धारण गरेको थियो । बजार मूल्यभन्दा चार गुणा महँगो भएर बिक्री नभएपछि पुनः मूल्य घटाएर गएको जेठ महिनामा मूल्य घटाएर ४ हजार रुपैयाँमा बिक्री खुला गरिएको थियो । तर मूल्य घटाउदा पनि बिक्री नभएको लमिटेडका कर्मचारीको भनाइ छ । मूल्य घटाउँदा पनि बिक्री नभएपछि पुनः टेन्डर आह्वान गरेर बिक्री गर्ने तयारी गरिएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका उपसचिव लवराज जोशीले टेन्डर आह्वान गरेर बिक्री गर्ने विषयमा छलफल भएको जानकारी दिए । “उच्च गुणस्तरको चुल्हो भए पनि अहिलेसम्म २५ प्रतिशत भन्दा बढी बिक्री हुन सकेको छैन,” उनले भने, “यसलाई कसरी बिक्री गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।”
पछिल्लो समय बजारमा ग्यासको आपूर्ति व्यवस्था सहज हुँदा विद्युतीय चुल्होको माग कम हुने गरेको छ । यस्तै, भूकम्पको बेला सरकारको निर्देशनमा साल्ट ट्रेडीङ कर्पाेरेसनले खरिद गरेको ५० हजार बन्डल जस्तापाता पनि बिक्री नभइ गोदाममा थन्किएका छन् ।