मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गरिने «

मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गरिने

सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रहसमेत गरे ।
मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशिताको कुरा सुनिश्चित गरे पनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको स्पष्ट पारे ।
उनले राजनीतिक दलभित्रै संविधानको भावनाअनुसार समावेशिताको सिद्धान्तलाई अंगिकार गरिसकेको अवस्था नरहेको स्वीकार गरे । मन्त्री पौडेलले भने, “मूलभूत रूपमा संविधानमा हामीले समावेशिताको कुरा त ग¥यौं । तर व्यवहारतः अझै बाँकी छ । व्यवहारतः राजनीतिक पार्टीमा बाँकी छ । सेना, पुलिसमा बाँकी छ ।
व्यूरोक्रेसीमा बाँकी छ । विभिन्न दलमा पनि बाँकी छ । कुराले मात्रै हुँदैन । त्यसकारण हामी तपाईहरूले उठाउनु भएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौ । र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ ? विगतका कुराहरु पनि खोजीनीति गरेर अघि बढछौं । त्यसका लागि तपाईंहरूले ठोस प्रस्ताव ल्याउनु पर्छ ।”
मन्त्री पौडेलले मदरसा शिक्षाको रूपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि स्मरण गराए । यता, आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताए । उनले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढनुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्