साफ यु–१९ महिला टोलीको बिदाइ «

साफ यु–१९ महिला टोलीको बिदाइ

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गरेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजनामा बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यु–१९ टोलीको विदाई गरेको हो । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदै छन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत उमेर समूहको खेलमा बलियो मानिएको नेपाली टोलीको लक्ष्य उपाधि उचाल्ने रहेको छ । टोलीलाई अञ्जना रानामगरले नेतृत्व गर्नेछिन् ।
डिसेम्बर ११ तारिखदेखि २२ तारिखसम्म ढाकामा आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले आइतबार २३ सदस्यी नेपाली महिला टोलीको नाम सार्वजनिक गरेका थिए ।
पाँच टोलीले राउन्ड रोबिन प्रणालीमा आयोजना हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तारिख, तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा तथा अन्तिम खेल भारतसँग १९ तारिखमा खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल डिसेम्बर २२ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्