Logo

प्यान लागू गर्न बजारलाई पनि ध्यान दिनुपर्छ : कार्की

सरकारको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन योजनाअन्तर्गत धितोपत्रको दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखानम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको थियो ।

नेपाल धितोपत्र बोडका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्रको बजारमा प्यान अनिवार्य गराउँदा बजारको अवस्थालाई पनि विचार गर्नुपर्ने बताएका छन् । बोर्डले सोमबार गरेको अन्तक्र्रियामा अध्यक्ष कार्कीले सेयर बजारमा प्यान लागू गर्ने विषय प्राविधिक भएकाले व्यावहारिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताएका हुन् ।
अध्यक्ष कार्कीले सरोकारवाला पक्षलाई स्थायी लेखा नम्बरका विषयमा देखिएका समस्या तथा व्यवहारिक पक्षको जानकारीसमेत गराएका थिए । सेयर बजारमा प्यान लागू गर्ने विषय प्राविधिक भएकाले यसका व्यवहारिक पक्ष र बजारको अवस्थालाई समेत ध्यान दिई अघि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा लगानीकर्ताहरूका तर्फबाट प्राप्त सुझाव तथा राखिएका विचार सरोकारवाला निकायसमक्ष राखी आवश्यक सहजीकरण गर्न बोर्ड तया रहेको उनको भनाइ थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, नेप्से, सिडीएससी, मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसनका साथै विभिन्न लगानीकर्ता संघसंस्थाका पदाधिकारी एवं सर्वसाधारण लगानीकर्ता सहभागी थिए । नेपाल सरकारको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन योजनाअन्तर्गत धितोपत्रको दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखानम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था कार्यन्वयन गर्ने सन्दर्भमा बोर्डले छलफल गरेको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, बत्तीसपुतलीका प्रमुख कर अधिकृत टंकनाथ पौडेलले प्यानसम्बन्धी कानुनी व्यवस्था, प्यान लिने प्रक्रिया तथा आवश्यक कागजात र यो लिँदाका फाइदा सम्बन्धमा जानकारी गराए ।
कार्यक्रममा नेपाल ईन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूह गरी लगानीकर्ताका सबै संस्थाका पदाधिकारीको उपस्थिति थियो । लगानीकर्ता प्यानको विरोधी नरहेको धारणा राख्दै पूँजीगत लाभकर अन्तिम कर हो कि होइन भन्ने जिज्ञासासमेत लगानीकर्ताले राखेका थिए ।
अघिल्लो वर्षको वार्षिक कारोबारमा भएको घाटालाई नाफामा समायोजन गरी कर निर्धारण हुने, हाल सेयर खरिदकर्तालाई मात्रै प्यान अनिवार्य गरिएकोमा सेयर बिक्रीकर्तालाई सो व्यवस्था नभएको सम्बन्धमा, नाबालक तथा विदेशमा रहने नेपाली लगानीकर्ताले प्यान लिने सम्बन्धमा, प्यान स्वतस्फूर्त रूपमा लिने वातावरण र प्यान लिनका लागि देशभर सहज रूपमा आवश्यक पूर्वाधार नरहेको जस्ता जिज्ञासा लगानीकर्ताका संघसंस्थाका प्रतिनिधिले राखेका थिए । सबै लगानीकर्ताका संस्था पदाधिकारीले लगानीकर्ताको स्तर, देशको भौगोलिक अवस्थाका साथै अन्य व्यवहारिक पक्षलाई समेत मध्यनजर गरी प्यान २०७६ वैशाख १ गतेदेखि अनिवार्य रूपमा लागू नगरी ऐच्छिक रूपमा लिने व्यवस्था गरी चरणबद्ध रूपमा लागू गर्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी कार्यक्रममा धितोपत्र दलाल व्यवसायीको तर्फबाट हालै सञ्चालनमा ल्याइएको कारोबार प्रणाली तथा सिडीएससीको प्रणालीमा समेत प्यान ईन्ट्री गर्ने व्यवस्था नरहेको भन्दै यसमा प्राविधिक समस्या रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्