वायु प्रदूषणले कुरूप बन्दै काठमाडौं «

वायु प्रदूषणले कुरूप बन्दै काठमाडौं

वायु प्रदूषणले देशका प्रमुख सहरहरू दिन–प्रतिदिन प्रदूषित हुँदै गइरहेका छन् । प्रदूषित सहरहरूमध्येको उच्च प्रदूषित सहर काठमाडौं एक नम्बरमा पर्छ । त्यति मात्र होइन, काठमाडौं विश्वका प्रदूषित सहरका सूचीमा समेत परेको छ । काठमाडौं देशको राजधानी भएर पनि हुनुपर्छ, यहाँ बस्न आम नेपालीको पहिलो रोजाइ बन्छ । सेवा, सुविधा, शिक्षा, रोजगार अवसरले आदि इत्यादिले गर्दा दिन–प्रतिदिन आममानिसको रोजाइ पर्दै गइरहेको छ । हाराहारी ५० लाख जनसंख्या बसोबास गर्ने सहर काठमाडौंमा व्याप्त सहरीकरणले गिजोलेको छ ।
उपत्यकावासी शान्त वातावरण र स्वच्छ हावाको मज्जा लिन प्रायःजसो ‘मर्निङ वाक’ मा निस्कनु धेरैको दैनिकी नै बनिसकेको छ । शरीरलाई स्वस्थ्य बनाउन नियमित मर्निङ वाकको रुटिन नै परिवर्तन गर्नुपर्ने अवस्था बनेको छ, दिनप्रतिदिन सहर प्रदूषित बन्दै जाँदा । तन्दुरुस्तीका लागि झिसमिसेमै मर्निङ वाकमा निस्कने काठमाडौं उपत्यकावासीले सबैभन्दा बढी प्रदूषणको सामना गर्नुपरेको तथ्यसमेत अनुसन्धानकर्ताले सार्वजनिकसमेत गरिसकेका छन् ।

वायु प्रदूषण बढ्नुको कारण
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको उच्च चाप बढ्दै जानु प्रदूषणको प्रमुख कारण हो । आजभोलिको यो मौसम भनेको चिसो मौसम हो मानिसहरू चिसोबाट बच्न सडकमा फोहोरका रूपमा रहेको प्लास्टिक÷कागज जलाएर आगो ताप्ने बानी, फोहोर घटाउन बस्ती–बस्तीमा आगो लगाउने गरिनु, विभिन्न निर्माण कार्यका कारण सडकमा धूलोको मात्रा उच्च रहनुजस्ता अन्य थप कारणले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढाउँदै गएको मान्न सकिन्छ । यसका अतिरिक्त कोइलाको प्रयोग वृद्धि हुँदै जाँदा इँटाभट्टाबाट धूवाँको मुस्लो फैलनु त्यस्तै उद्योगधन्दा कलकारखानाबाट निरन्तर रूपमा निस्कने धूवाँले उपत्यकालाई ढाकेको छ । खाल्डो आकारमा रहेको उपत्यकाको वायु प्राकृतिक रूपमा फ्लस वा बहेर अन्यत्र जान सहज नभएकाले प्रदूषण बढेमा घटाउन निकै कठिन पर्छ । तह–तह रूपमा जमेर बसेको धूवाँ–धूलोले वरिपरि रहेको डाँडाकाँडामा ढाकेर बसिरहँदा प्रदूषण बढ्दै गएको हो । त्यस्ता प्रदूषणको तह एक्जिस्ट हुन नपाउँदा थुप्रिएर मात्र बसिरहेको हुन्छ ।

वायु प्रदूषणका असरहरू
जलवायु परिवर्तन विश्वकै समस्याका रूपमा रहेको छ । प्रदूषण बढ्नुमा पनि जलवायु परिवर्तनको असरलाई मान्न सकिन्छ । जसको प्रभावबाट मानिसमा श्वास–प्रश्वासजन्य स्वास्थ्य समस्या बढ्दै जाने, विशेषतः ससाना बालबालिका र वृद्धवृद्धा तथा दीर्घरोगीलाई बढी प्रभावित बनाउँछ । बेलैमा सजगता नअपनाउने हो भने काठमाडौंमा वायु प्रदूषणले विकराल रूप नलेला भन्न सकिँदैन ।

समाधानका उपायहरू
फोहोर बाल्ने काम नगर्ने, छोटो दूरीमा जाँदा आउँदा सवारी साधन प्रयोग नगर्ने, पैदल यात्रालाई प्राथमिकता दिने वा साइकलमा आवतजावतमा जोड दिने, पुराना सवारी साधनलाई विस्थापन गर्ने या विद्युतीय सवारीमा जोड दिने, सम्भव भएसम्म घरपरिसरमा कम्तीमा बिरुवा रोप्नेजस्ता कार्य व्यक्तिस्तरबाटै गर्ने हो भने वायु प्रदूषणलाई कम गर्न सकिन्छ । यसका अतिरिक्त उद्योगी, व्यवसायी, स्थानीय सरकार, प्रदेश सरकारको आ–आफ्नो तर्फबाट पहलकदमी गर्ने हो भने वायु प्रदूषण न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्