योजना कार्यान्वयनमा उपभोक्ताले रुचि देखाएनन् «

योजना कार्यान्वयनमा उपभोक्ताले रुचि देखाएनन्

बेनी नगरपालिकाले चालू आवमा सञ्चालन हुने पूर्वाधार योजनामा बजेट विनियोजन गरे पनि उपभोक्ताले कार्यान्वयनमा रुचि देखाएका छैनन् ।
यही माघ १५ गतेसम्म उपभोक्ता समितिहरू योजना सम्झौता गर्न नआए ठेक्का प्रक्रिया कार्यान्वयन गर्ने नगरपालिकाले तयारी गरेको छ । गत असारमा भएको नगरसभाबाट बजेट विनियोजन भएको पूर्वाधार योजनाको काम गर्न उपभोक्ताले बेवास्ता गरेको भन्दै बसेको नगरकार्यपालिका बैठकले पाँच लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन भएका योजनाको सम्झौता गर्ने समयसीमा माघ १५ गतेलाई तोकेको हो ।
तोकिएको समय सीमाभित्र उपभोक्ता सम्झौता गर्न नआए ठेक्का प्रक्रिया सुरु गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए । पुस २६ गते नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । पूर्वाधार योजनामा कुल बजेटको १५ प्रतिशत अनिवार्य जनश्रमदान हुनुपर्ने नीतिगत व्यवस्थाका कारण उपभोक्ताहरूले रुचि नदेखाएको बेनपा– २ का वडाध्यक्ष हिराबहादुर थापाले बताए ।
श्रमदान गर्ने जनशक्तिको अभाव, योजनास्थल, उपभोक्ता समिति गठनसम्बन्धी विवाद, जनप्रतिनिधिहरूले समन्वय गर्न नसक्दा योजना सम्झौतामा ढिलाइ भएको कर्मचारीले बताएका छन् । बेनी नगरपालिकाले चालू आव ०७४७५ मा ३७१ वटा योजना तथा कार्यक्रमका लागि पुजीगततर्फ १५ करोड नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सडक, भवन, खानेपानी, सिँचाइ, नदी नियन्त्रण, खेलमैदान, विद्युतीकरणलगायत पूर्वाधारसम्बन्धी २५० वटा योजना छन् । हालसम्म १५५ वटा योजनाको सर्वेक्षण र ९९ वटाको लागत इस्टिमेट र डिजाइन तयार भएको छ । ठेक्कामार्फत कार्यान्वयन गरिने ३ वटा योजनाको बोलपत्र आव्हान भएको छ । ५६ वटा योजना सम्झौता भएकोमा आवको पहिलो छ महिनाको अवधिमा १४ वटामात्र सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्