क्यान इन्फोटेक मेला १८ माघमा «

क्यान इन्फोटेक मेला १८ माघमा

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यस वर्षको क्यान इन्फोटेक मेला आगामी माघ दोस्रो हप्ता काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गर्ने भएको छ । क्यानका अनुसार प्रविधि मेला माघ १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको हो । यो मेला इन्फोटेकको २७औं संस्करण हो ।
गत वैशाख २८ देखि जेठ २ गतेसम्म गर्ने गरी सबै तयारी गरे पनि कोभिड दोस्रो लहरका कारण यसअघि मेला स्थगित गरिएको थियो । सन् १९९५ देखि महासंघले क्यान इन्फोटेकको सुरु गरेको थियो । सन् २०२० मा इन्फोटेकको २६औं संस्करण गरिएको थियो । यसपटकको मेला छ दिनसम्म चल्नेछ ।
यसपटकको मेलाको शीर्ष प्रायोजन, सहप्रायोजन, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका लागि प्रस्ताव खुल्ला गरिएको पनि महासंघले जनाएको छ ।
महासंघका अनुसार अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । मेलाले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने महासंघको दाबी छ ।
इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टमलगायतका विषयमा अवलोकनकर्ताले जानकारी पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्