अधिकांश नगर प्रहरी करारमा «

अधिकांश नगर प्रहरी करारमा


नेपालको संविधान, २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई नगर प्रहरी स्थापनाका लागि एकल अधिकार दिएको छ ।
संविधान बनेको ६ वर्षभन्दा बढी समय र स्थानीय तह गठन भएको करिब ५ वर्ष पुग्नै लाग्दासमेत अधिकांश स्थानीय निकायमा करारमा नियुक्त गरेका अस्थायी प्रहरी छन् भने सीमित संख्याका स्थानीय तहसँग मात्र आफ्नै स्थायी नगर प्रहरी छ ।
संविधानको २०७२ को अनुसूची ८ ले स्थानीय तहको एकल अधिकारको रूपमा दिएको पहिलो बुँदा नै परिपक्क रूपमा अझै कार्यान्वयन भएको छैन ।
स्थानीय तहको एकल अधिकार भएर पनि स्थानीय तहमा जनशक्ति पदपूर्ति प्रदेश कानुनबमोजिम हुने भन्ने संविधानमा लेखिएकाले अहिलेसम्म कुनै पनि प्रदेशमा प्रदेश लोकसेवा आयोगले काम नगर्दा स्थायी पदपूर्ति हुन नसकेको हो । यसले गर्दा पनि अधिकांश स्थानीय तहले करारमा नगर/गाउँ प्रहरी भर्ना गरेका छन् र बर्सेनि म्याद थप्ने गरेका छन् ।
कति स्थानीय तहसँग आफ्नै प्रहरी छ भन्ने एकीन तथ्यांकको पनि अभाव छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल (नारमिन) का कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेल कति गाउँपालिकाले प्रहरी सेवा गठन गरेका छन् भन्ने एकीन तथ्यांक महासंघसँग नरहेको बताउँछन् । प्याकुरेल अहिले तथ्यांक प्रणाली निकै कमजोर रहेको बताउँछन् ।
“स्थानीय तहले गरेका कुनै पनि कार्यको एकीन तथ्यांक हामीसँग मात्रै होइन, नेपाल सरकार र प्रदेश सरकारका निकायसँगै नै छैन,” उनी भन्छन्, “तथ्यांक अभावमा काम गर्न अप्ठेरो भइरेहेको छ, यसका लागि राष्ट्रिय योजना आयोग वा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभावकारी प्रणाली बनाएर तथ्यांक प्राप्तिलाई सहज बनाउनुपर्ने बनाउनु पर्दछ ।”
काठमाडौं महानगरपालिकाले महानगर प्रहरी बल गठन गरेको छ । पूर्वमेयर पीएल सिंहले २०५१ सालमा काठमाडौं महानगरमा नगर प्रहरीको अवधारणा ल्याएका थिए ।
नगरमा कार्यालय समयभन्दा बाहिर रातको समयमा मानिसले फोहोरमैला फाल्ने गरेकाले त्यसलाई सुपरिवेक्षण र नियन्त्रण गरी नगर सफा राख्ने मुख्य उद्देश्यले नगर प्रहरी गठन गरेका थिए । यसैगरी सडक किनाराका अवैध पसल र अवैध निर्माणलाई नियन्त्रण गर्नका लागि नगर प्रहरी गठन गरिएको थियो । महानगरले प्रमुख प्रशासकीय अधिकृत मातहत रहने गरी महानगरीय प्रहरी सेवा बल सिर्जना गरेर कार्यान्वयनमा ल्याएको छ ।
स्थानीय कार्यपालिका, प्रमुख, न्यायिक समितिका निर्णयहरू कार्यान्वयन गर्ने अधिकारी प्रमुख प्रशासकीय अधिकृत भएकाले निज मातहतको महानगरीय प्रहरी सेवा बलले कार्यसम्पादन गर्दै आएको छ । काठमाडौं महानगरमा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा २ सय १९ जनाको दरबन्दी छ । तर केही संख्या भने खाली रहेको महानगर स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्