विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार «

विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार

जिल्लाको समग्र विकासका लागि राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका नेताहरुले बताएका छन् ।
निजी क्षेत्रहरुले समग्र क्षेत्रको विकास नभएसम्म देशको विकास हुन नसक्ने भएकाले राज्यसँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए । अहिले पनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको उनीहरुले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले राज्यले सधैं उद्योगी व्यवसायीलाई दबाउने काम मात्र गरेको बताए । राज्यले निजी क्षेत्रलाई सहयोगीको रुपमा अझै पनि हेर्ने नसकेको बताए ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले विकासका लागि राज्यको मात्र भर पर्न नहुने बताइन् । राज्य एक्लैले गरेर सम्भव नहुने भएकाले सबैको सहयोग आवश्यक पर्ने उनको भनाइ छ । “सबै आ–आफनो क्षेत्रबाट अगाडि बढ्नु पर्दछ” उनले भनिन् । गाउँपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको समेत उनले बताइन् ।
दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीले कोभिडको कारण व्यवसायी थला परेको बताए । कोरोनाले प्रभावित भएका व्यवसायलाई अगाडि बढाउन राज्यले सहयोग गर्नुपर्ने उनको भनाइ छ । जिल्लको विकासका लागि कोइलावास नाका सञ्चालका लागि आफूहरुले निरन्तर पहल गर्दै आएको उनले बताए । कोइलावास नाका सञ्चालनमा आए यस क्षेत्रको विकासमा सहयोग पुग्ने उनले बताए ।
तुलसीपुर उद्योग वाणिजय संघका अध्यक्ष रामप्रसाद चालिसेले दर्ता विना सञ्चालन हुने घुम्ते व्यवसायीलाई नियन्त्रणमा ल्याउनु पर्ने बताए । यसका लागि राज्यले पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्