लैंगिक हिंसा अन्त्य गर्न पुरुष र महिलाको भूमिका बराबर : राष्ट्रपति भण्डारी «

लैंगिक हिंसा अन्त्य गर्न पुरुष र महिलाको भूमिका बराबर : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर भूमिका रहेको बताएकी छन् ।
आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी हुन् । उनले लैंगिक हिंसा उन्मुलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढेमात्रै सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्ने बताइन् ।
राष्ट्रपति भण्डारीले समाजमा शिक्षा र चेतना विस्तार हुँदै जाँदा, महिलाको सामाजिक र आर्थिक अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैंगिक हिंसा विभिन्न रूपले अस्तित्वमा रहनु चिन्ताको विषय भएको बताइन् । उनले छाउपडी, बोक्सीजस्ता कुप्रथा पूर्णरूपमा निर्मुल गर्न अझै संघर्ष गरिरहनु परेको अवस्थामा अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यवहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रुपहरू प्रकट भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले भनिन्, “महिला हिंसा अन्त्यका लागि नेपाल सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदायको तहमा पु¥याउने र समुदायस्तरका छलफलबाट प्राप्त सुझावलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक छ ।”
राष्ट्रपति भण्डारीले वन व्यवस्थापनका माध्यमबाट जनताको जीविकोपार्जनमा सुधारका साथै वातावरण र जैविक विविधताको संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने बताइन् ।
उनले महिला हिंसा अन्त्यका लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदाय तहमा पु¥याउने र छलफलबाट प्राप्त सुझावलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक रहेको समेत औँल्याइन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्