Logo

जनप्रतिनिधि व्यस्त हुँदा योजना कार्यान्वयन प्रभावित

The district headquarters of Myagdi district, Beni bazaar at the confluence of Kali Gandaki river and Myagdi river looks tempting to travel to, on Monday, November 21, 2016. Lately, the bazaar has been in the list of tourist’s choice to stop by. Photo: RSS


पछिल्लो समय मुख्य तीन पार्टीको वडादेखि पालिका, प्रदेश निर्वाचन, जिल्ला र राष्ट्रिय महाधिवेशन लगायतका विभिन्न कार्यक्रममा जनप्रतिनिधि व्यस्त हुँदा म्याग्दीमा विकास योजना कार्यान्वयन प्रभावित बनेको छ । पार्टीको आन्तरिक अधिवेशनले जनप्रतिनिधि कार्यालयमा भेटिनसमेत छाडेका छन् ।
जनप्रतिनिधिले पार्टीका अधिवेशनमा व्यस्त हुँदा उपभोक्ता समिति गठनमा उनीहरूले समय दिन नसकेका कारण उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजना कार्यान्वयन प्रभावित बनेको गुनासो बढेको छ । अधिकाँश स्थानीय तहले पहिलो चौमासिकमा योजना सम्भौता र ठेक्का प्रकृया सक्ने लक्ष्य लिए पनि त्यो पूरा हुन सकेको छैन ।
जिल्लामा रहेको एकमात्रै नगरपालिका बेनी नगरपालिकाले पहिलो चौमासिकमा पुँजीगततर्फ ७ दशमलव ३५ प्रतिशत र चालूतर्फ २२ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ । कुल ६७ करोड ८१ लख ५३ हजार बजेट रहेको यस नगरपालिकाले कुल १७ दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।
उनका अनुसार, नगरपालिकाले कार्ययोजना नै निर्माण गरी योजना तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न थालिसकेको छ । चालू आर्थिक वर्षका लागि कुल ४ सय ४ वटा योजना तथा कार्यक्रम सञ्चालनका लागि छनोट भएकोमा अहिलेसम्म ११ वटा योजना सम्पन्न भएका छन् भने १८ वटा योजना कार्यान्वयनको चरणमा छन् । नगरपालिकामा समेत उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाका लागि समिति गठन र सम्झौतामा ढिलासुस्ती भएको छ ।
जिल्लाको रघुगंगा गाउँपालिकामा पहिलो चौमासिकमा पुँजीगततर्फ ३ दशमलव ३ प्रतिशतमात्रै खर्च भएको छ । कुल ३० करोड ३३ लाख ८४ हजार ३ सय चालू बजेटमध्ये ६ करोड १५ लाख १८ हजार ५८० अर्थात २० दशमलव २६ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ न्यून खर्च भएको छ । पुँजीगत बजेट १४ करोड ७५ लाख २४ हजार ७ सयमध्ये ४४ लाख ७१ हजार ५ सय ५७ मात्रै खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
योजना कार्यान्वयनमा ढिलाइ हँुदा पुँजीगतखर्च कम भएको छ, योजना सम्झौताको काम सुरु भएको छ, हिउँद याम लागेकाले योजना कार्यान्वयनलाई गति दिन आवश्यक प्रकृया अघि बढाएको उनले जानकारी दिए ।
कात्तिकभित्र योजना सम्झौताको काम सक्ने लक्ष्य रहे पनि अहिलेसम्म दसैं लक्षित सडक मर्मतका ८ वटा योजनासहितका जम्मा १३ वटा योजनाको मात्रै उपभोक्ता समिति गठन गरी सम्झौता भएको छ । कुल १ सय ४ वटा योजनामध्ये ५ वटा योजनालाई ठेक्कामार्फत अघि बढाइएको छ भने दुईवटा योजना ठेक्का प्रकृयामा रहेका छन् ।
मंगला गाउँपालिकामा कुल ४२ करोड २७ लाख बजेटमध्ये चालूतर्फ २१ दशमलव ५९ प्रतिशत बजेट खर्च हुँदा पुँजीगततर्फ जम्मा १ दशमलव ८८ प्रतिशत बजेट खर्च भएको छ ।
विकास निर्माणतर्फका काम नभएकाले पुँजीगत खर्च हुन नसकेको गाउँपालिकाले जनाएको छ । पहिलो चौमासिकमा कुल १४ दशमलव १२ प्रतिशतमात्रै वित्तीय प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिए ।
साना योजना १२ वटा सम्पन्न भएर भुक्तानी गरेका छौं, अहिले योजनाको स्टिमेट तयार गर्ने र उपभोक्ता समिति गठन गरी सम्झौता गर्ने काम धमाधम भइरहेको छ, अहिलेसम्म २७ वटा योजना सम्झौता भएको जानकारी दिए । कुल २ सय ७४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने मंगला गाउँपालिकाले ४ वटा ठूला योजनालाई ठेक्कामार्फत अघि बढाएको छ । आगामी चैतभित्र अधिकाँश र जेठ १५ भित्रमा सबै योजना सम्पन्न गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।
मालिका गाउँपालिकामा कुल ४४ करोड ५८ लाख ६१ हजार बजेटमध्ये ५ करोड २५ लाख ३३ हजार ८ सय २५ मात्रै खर्च भएको छ । खर्च भएको बजेटमध्ये पुँजीगततर्फ २ दशमलव ०६ प्रतिशत र चालूतर्फ १९ दशमलव ३५ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । योजना कार्यान्वयन भएर रकम भुक्तानी नभएका कारण पुँजीगततर्फको बजेट खर्च हुन नसकेको जनाइएको छ । यस गाउँपालिकामा कुल १ सय ५५ वटा योजनामध्ये २० वटा योजनामात्रै सम्झौता भएका छन् ।
३ वटा योजनालाई ठेक्कामार्फत अघि बढाइएको छ । चाडपर्व, राजनीतिक दलका अधिवेशनलगायतका कारणले प्रभावित बने पनि मंसिर महिनाभित्रमा योजना सम्झौताका काम सक्ने लक्ष्य रहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए । गाउँपालिकाले चैत मसान्तभित्र पूर्वाधार निर्माणका काम सक्ने लक्ष्य बनाएको छ ।
धवलागिरि गाउँपालिकामा कुल ४० करोड बजेटमध्ये पुँजीगततर्फ ८ प्रतिशत र चालूतर्फ १७ दशमलव १३ प्रतिशत बजेट खर्च भएको छ । दसैंलक्षित सडक मर्मतका योजना सम्पन्न भएर भुक्तानी भएको छ ।
पूर्वाधार निर्माणतर्फ थप २ योजनामात्रै सम्झौता भएको र अपायक पर्ने वडाका योजना सम्झौता गर्न घुम्ती रुपमा वडास्तरमै जाने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए । उनले मराङ, मल्कबाङ, मुदी, ताकमलगायतका वडामै पुगेर योजना सम्झौता गर्ने तयारी गरिएको बताए । गाउँपालिकाले सञ्चालन गर्ने १ सय ५० वटा पूर्वाधार योजनालाई वैशाखभित्र नै सम्पन्न गर्ने गरी तयारी थालिएको जनाइएको छ ।
अन्नपूर्ण गाउँपालिकामा ४२ करोड ३० लाख कुल बजेटमध्ये पुँजीगततर्फ जम्मा ० दशमलव ५२ प्रतिशत र चालूतर्फ १८ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको छ । प्रकोप व्यवस्थापनतर्फ भने ३१ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए । गाउँपालिकाले यस वर्ष पूर्वाधारतर्फका १ सय ३० वटा योजना छनोट गरेको छ । तीमध्ये ४ वटा सम्झौता भएको र ४ वटा योजना ठेक्का प्रकृयामा रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । अन्नपूर्णले ३ लाख बजेटसम्मका योजनाको सम्झौता वडाबाटै गर्ने भएको छ । जनप्रतिनिधिसँंगै कर्मचारीहरू जिम्मेवार भएर जनताका पक्षमा रहेका विकास योजना र आयस्रोतका कार्यक्रमलाई समयममै कार्यान्वयतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

—धीरन खत्री

प्रतिक्रिया दिनुहोस्