आउँदा दिनमा ऋणपत्रको बजार बढ्दै जान्छ «

आउँदा दिनमा ऋणपत्रको बजार बढ्दै जान्छ

सुनिल पोखरेल, सीईओ, सिभिल बैंक


सन् १९९१ मा तत्कालीन नेपाल ग्रिन्डलैज बैंक (हालको स्ट्याण्डर्ड चार्टर्ड बैंक) बाट बैंकिङ करियर सुरु गरेका सुनिल पोखरेल अहिले सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताइसकेका पोखरेल अनुभवी बैंकर हुन् । उनले साढे १९ वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम गरे । यसबीचमा अफगानिस्तानको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पनि काम गरे । त्यसपछि उनी नेपाल फर्किएर एनआईसी एसिया बैंकमा साढे पाँच वर्ष र नबिल बैंकमा एक वर्ष तथा म्यानमारको एजीडी बैंक र यूएबी बैंकमा काम गरेको अनुभव छ । नेपाल फर्किएपछि उनले सिभिल बैंकमा डेपुटी सीईओ भएर काम गरे । गत असार १८ गतेदेखि पोखरेल सिभिल बैंकमा सीईओको जिम्मेवारीमा छन् । गत वर्ष सिभिलले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको थियो । यसका अतिरिक्त काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ फ्याकल्टीको रूपमा पनि आबद्ध पोखरेलसँंग विविध विषयमा केन्द्रित रहेर कारोबारकर्मी सुमित सुवेदीले गरेको कुराकानीको सार :

अहिले बैंकहरूले तरलताको समस्या भोगिरहेको सुनिन्छ । सिभिल बैंकको सन्दर्भमा तरलताको अवस्था कस्तो छ ? के कर्जा नै उपलब्ध गराउन नसक्ने अवस्थामा पुगेको हो ?
हो, अहिले तरलताको समस्या छ । लगभग धेरैजसो बैंकको सीडी रेसियो ९० प्रतिशत क्रस भइसकेको छ । तर, राष्ट्र बैंकले हामीहरूलाई असार मसान्तसम्मको समय दिएको छ । त्यहाँसम्ममा हाम्रो योजना बुझाउनुपर्नेछ । त्यो समयसम्ममा धेरै बैंकहरू ९० प्रतिशतभन्दा तल झर्छन् जस्तो लाग्छ । हामीहरूले पनि त्यसैअनुसारको योजना बनाइरहेका छौं । यो वर्ष धेरै वृद्धिदरमा जाँदैनौं । जब हाम्रो पुँजी बढ्ला, त्यसपछि केही सहज होला ।

अहिले तरलताको समस्या आउनुमा सीडी रेसियो कारक हो भनेको सुनिन्छ । तर, बैंकहरूसँग जति नै पुँजी भए पनि कर्जा दिने निक्षेप उठाएरै हो । निक्षेप छैन भने कर्जा कसरी दिन सकिन्छ ? त्यसैले सीसीडी रेसियो हटाएकाले तरलताको समस्या आयो भन्नु कत्तिको जायज हो ?
आजको अवस्थामा सीसीडी रेसियो भएको भए पनि हामीहरू यही अवस्था हुन्थ्यौं, त्यसमा दुईमत छैन । आज अन्तर्राष्ट्रिय मान्यतालाई हेर्ने हो भने पनि सीडी रेसियो नै चलेको छ । पुँजी भन्ने कुरा सधैं बफर हुन्छ । मैले हाइड्रोमा लगानी गरेको छु भनेर कर्जा दिन त मिल्दैन, त्यसका लागि त निक्षेप नै चाहियो । त्यसैले क्यापिटल भनेको जहिले पनि बफरमा नै बस्नुपर्छ । त्यसैले सीसीडी भएको भए पनि तरलताको समस्या आउँथ्यो । अहिले कर्जा प्रवाह र निक्षेपको बीचमा असन्तुलन देखिएको छ । निक्षेप नबढ्ने तर कर्जा धेरै प्रवाह हुने अवस्था छ । एक महिनाअगाडि त अझ नकारात्मक अवस्थामा थियौं । अहिले केही सकारात्मक छौं तर २८-३० अर्बको वृद्धिले खासै असर पनि देखाउँदैन । त्यसैले अहिलेको अवस्थामा सीडी रेसियो नै राम्रो हुन्छ । यसले दीर्घकालमा बैंकिङ क्षेत्रलाई निकै नै राम्रो गर्छ । भोलि हामीहरू निक्षेप जति छ त्यसैअनुसार कर्जा प्रवाह गर्छौं । मेरो वास्तविक मूल्य कति हो भन्ने पनि निक्षेपले नै निर्धारण गर्छ ।

सीडी रेसियोलाई ९५ प्रतिशत पु-याउनुपर्छ भन्ने गरेको सुनिन्छ । तपाईंलाई के लाग्छ ?
अहिले राष्ट्र बैंकले बैंकहरूलाई असार मसान्तसम्मको समय दिएको छ । त्यो समय हामीहरूका लागि पर्याप्त छ । त्यसैले सीडी रेसियोलाई ९० प्रतिशतभन्दा माथि बढाउनु उपयुक्त हुँदैन । किनकि यदि मैले सय रुपैयाँको डिपोजिट ल्याएर सय रुपैयाँको लोन दिए भने पछि बचतकर्ताले रकम फिर्ता माग्न के गर्ने । बैंक रनको अवस्था आउन सक्छ नि । त्यसैले १० प्रतिशत छुट्याएर राख्नुपर्छ । पहिलो वर्ष हो, त्यसमा राष्ट्र बैंकले हामीहरूलाई केही लचकता दिएको छ । त्यसमा खुसी मान्नुपर्छ । सीडी रेसियोलाई ९० प्रतिशतभन्दा माथि लैजाने जोखिम लिनु हुँदैन ।

तरलता हरेक वर्ष दोहोरिने मौसमी समस्या भइसक्यो । पहिल्यै तरलताको समस्या हुन्छ भन्ने थाहा हुँदाहुँदै त्यसको तयारी किन गर्न सकिँदैन ?
अघिल्लो वर्षको कुरा गर्ने हो भने यो समयमा हामीहरूसँग फालाफाल पैसा थियो । बैंकहरू कर्जा प्रवाह गर्न आक्रामक अवस्थामा थिए । बेस रेटमा नै ऋण दिन दौडादौड थियो । अर्थात् गत वर्ष बैंकहरूसँग धेरै निक्षेप थियो । तर, यो वर्षको पहिलो त्रैमासिकमा विगत १० वर्षकै सबैभन्दा धेरै कर्जाको माग भयो । कोभिडपछिको अवस्थामा हामीहरूसँग मात्र नभएर विश्वभर नै कर्जा प्रवाह बढिरहेको देखिन्छ । भारतजस्तो ठूलो अर्थतन्त्र भएको देशले पनि ८.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । अझ दोहोरो अंकको वृद्धि गर्छन् कि भन्ने आकलन पनि छ । हामीकोमा पनि त्यस्तै भएको हो ।
अर्को कुरा, कोभिडपछि वस्तु तथा सेवाको मूल्य ह्वात्तै बढेको छ । हिजो सय डलरमा पाइने वस्तुलाई अब १ सय ३० तिर्नुपर्ने अवस्था छ । एक त यसले आयातमा धेरै पैसा गयो । अर्को मुद्रास्फीति बढायो । अहिले अमेरिकाजस्तो देशमा पनि ६ प्रतिशतभन्दा धेरै मुद्रास्फीति रहेको देखिन्छ । त्यसैले यो सामान्य अर्थतन्त्र होइन । हामीहरू अहिले केही प्रतिक्रियात्मक भएका हौं । हामीहरूले प्रक्षेपण गर्न सकेनौं । त्यो सकेको भए यस्तो अवस्था आउने थिएन । अहिले प्रतिक्रियात्मक भएका मात्र हौं ।

सरकारी खर्चमा मात्रै तरलतामा निर्भर पर्दछ र तपाईंलाई के लाग्छ ?
त्यसले पनि केही मात्रामा असर पारेको छ । नेपालमा सरकारी खर्चको अवस्था हेर्ने हो भने पहिला हुँदै नहुने र अन्तिम त्रैमासिकमा गएर मात्र खर्च हुने गरेको देखिन्छ । खर्च नभएको कारणले पनि केही असर गरेको छ । अहिलेको अवस्थामा हामीहरू चैतसम्म टाइट हुन्छौं । त्यसपछि कर्जा प्रवाह केही कम हुन्छ । बैंकहरूले पनि खासै कर्जा प्रवाह गर्दैनन् । सरकारी खर्च पनि हुन्छ । त्यसपछि केही सहज होला । वास्तवमा पहिलो र अन्तिम त्रैमासिकमा कर्जा प्रवाह नहुने प्रचलन थियो । तर, यस वर्ष भने पहिलो त्रैमासिकमा नै चाप प¥यो ।
खर्चकै कुरा गर्दा, सरकारले यदि अघिल्ला महिनाहरूमा पैसा खर्च गर्न सक्दैन भने त्यो रकम कुनै वाणिज्य बैंकमा राखिदिने हो भने त्यसको प्रयोग गर्न सक्छाँै । सरकारले कसैलाई पेमेन्ट गर्दा बैंकबाट हुने गरिदियो भने बैंकले त्यो पैसा प्रयोग गर्न पाउँछन् । तरलताको समस्या पनि केही हदसम्म समाधान हुन्छ, सरकारलाई पनि रिटर्न आउँछ ।

पछिल्लो समय सरकारले धेरै नै आन्तरिक ऋण उठाउने गरेको छ । सरकारले आन्तरिक ऋण उठाउने तर खर्च नगर्दा तरलतामा दबाब देखिएको हो ?
त्यो पनि एउटा कारण हो । तर, त्यसले धेरै असर गर्छ जस्तो लाग्दैन । खर्चको कुरा त धेरै वर्षदेखि यस्तै चलिरहेको छ । सबै बैंक त्यसको भुक्तभोगी हौं । पुँजीगत खर्च भएको भए सहज हुन्थ्यो । नभएपछि निक्षेप कसरी बढाउने भन्ने कुरा हो । अर्को कुरा रेमिट्यान्स पनि घटिरहेको छ । त्यसले पनि केही असर गरेको होला ।

पछिल्लो समय राष्ट्र बैंकको जुन सर्कुलर ल्यायो । त्यसले ब्याजदरमा केही रेस्ट्रिक्सन लगाएको छ, त्यसले निक्षेपमा कति प्रभाव पारेको छ ?
ब्याजदर बढाएर पनि बजारबाट नयाँ निक्षेप आउँदैन भने त्यसको कुनै अर्थ हुँदैन । त्यसले खालि एउटा बैंकको तरलतालाई अर्को बैंकमा सार्ने काम मात्र गर्छ । त्यसले तरलतामा कुनै परिवर्तन ल्याउँदैन । अहिले ब्याजदर बढाउन छुट दिने हो भने हामीहरू एकअर्कासँग मात्र प्रतिस्पर्धा गरिरहेका हुन्छौँ । त्यसले बरोइङ कस्ट माथि जान्छ । त्यसको असर उपभोक्तालाई पर्छ । हो, मुद्रास्फीतिभन्दा माथि ब्याजदर हुनुपर्छ, तर धेरै माथि जानु राम्रो हुँदैन । एउटा बैंकले १२ प्रतिशतको ब्याजदर राख्ला, अर्कोले १५ प्रतिशत बनाउला, त्यसले कसैलाई पनि फाइदा हुँदैन । ब्याजदर बढाए विदेशको पैसा आउँछ । रेट बढाऊँ भन्ने भएको भए अर्को अवस्था हुन्थ्यो, तर अहिले त्यस्तो अवस्था छैन । त्यसैले रेट बढाउनु भनेको एकअर्कालाई असर पार्नुमात्रै हो । नयाँ निक्षेप सिर्जना गर्न नसक्ने अवस्थामा त्यसको कुनै अर्थ हुँदैन । मैले देखेअनुसार थप अप्ठ्यारो समय आउन बाँकी नै छ । धेरैजसो बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ । चैतसम्म अप्ठ्यारो अवस्थाको आकलन गर्न सकिन्छ ।

पछिल्लो समय धेरै बैंकहरूले ऋणपत्र (डिबेन्चर) जारी गरिरहेका छन् । यसै क्रममा सिभिल बैंकले पनि आफ्नो ऋणपत्र जारी गर्यो । ऋण विस्तार गर्न समस्या भएको हो ?
वाणिज्य बैंकहरूले आफ्नो क्यापिटलको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्छ भनिएको छ । त्यसै हिसाबले सबै बैंकले असार मसान्तभित्र ऋणपत्र जारी गरिसक्नुपर्ने अवस्था आउँछ । हामीले अहिलेसम्म ऋणपत्र जारी गरेका थिएनौं । अर्थात् हामीलाई अहिलेसम्म पुँजीको आवश्यकता थिएन । त्यसमा पनि राष्ट्र बैंकले दुई तरिकाबाट ऋणपत्र जारी गर्न सकिन्छ भनेको छ । एउटा पुँजीको लागि, अर्को निक्षेपको लागि । हामीले अहिले पुँजीका लागि ऋणपत्र जारी गर्न लागेका हौं । व्यवसाय विस्तार गर्नका लागि पुँजी चाहिन्छ । बैंकले पुँजी बढाउनका लागि एउटा विकल्पको रूपमा ‘राइट सेयर’ जारी गर्नसक्छ भने अर्को विकल्प ऋणपत्र नै हो । हामीसँग पुँजी थियो, त्यसैले अहिलेसम्म ऋणपत्रमा गएका थिएनौं । अब व्यवसाय बढ्दै गएकाले पुँजीको आवश्यकता प¥यो । त्यसैले ऋणपत्र जारी गरेका हौं । ऋणपत्रले पुँजी पर्याप्तता बढाउने हो । अब यसले कर्जा दिने बैंकको क्षमतालाई भने बढाउँछ । हिजो मैले जति कर्जा प्रवाह गर्थें अब त्यो क्षमतामा केही वृृद्धि आउँछ । तीन अर्बको ऋणपत्रले ३० देखि ३५ अर्बको कर्जा प्रवाह गर्ने क्षमतालाई बढाउँछ ।

सिभिल बैंकले कति रकमको कहिलेसम्मका लागि ऋणपत्र जारी गरेको हो ? फिक्स डिपोजिट र यसमा के फरक छ ?
हाम्रो ऋणपत्रको आकार तीन बिलियन अर्थात् तीन अर्बको हो । त्यसको म्याचुरिटी १० वर्षको छ भने हामीहरूले १०.२५ प्रतिशतको रिटर्न दिन्छौँ । धेरैजसो ऋणपत्रमा छ महिनामा ब्याज दिइन्छ भने हामीहरूले त्रैमासिक भुक्तानी गर्छौं । हाम्रो धारणा सकभर सर्वसाधारणाले बढी किनून् भन्ने हो ।
१० वर्षको औसत फिक्स डिपोजिटको रेट हेर्ने हो भने ७.५ देखि ८ प्रतिशतको हाराहारीमा छ । त्यस हिसाबले हेर्दा सिभिल बैंकको ऋणपत्रले दिने रिटर्न निकै राम्रो छ । फिक्स डिपोजिटको तुलनामा यसको अर्को राम्रो पक्ष के हो भने फिक्स डिपोजिट समय पुगेपछि मात्र निकाल्न पाइन्छ । तर, ऋणपत्रलाई भोलि बजारमा गएर बेच्न पनि सकिन्छ । बेच्न मात्र हैन, किनेको रकमभन्दा बढीमा बेच्न सक्ने अवस्था पनि आउँछ । त्यस कारणले अहिलेको अवस्थामा यो उपयुक्त विकल्प हुन्छ । हाम्रो ऋणपत्रले बजारमा सकारात्मक रेस्पोन्स पाइरहेको छ ।

ऋणपत्र किनबेच गर्न त सकिन्छ । तर, विगत २ वर्षभन्दा अगाडि हेर्ने हो यसको विषयमा धेरैलाई थाहा पनि थिएन । यसरी नै कारोबार हुने सेयरको विषयमा धेरैजसो मानिस अवगत छन् । कारोबार पनि अर्बौंमा हुन्छ । तर, ऋणपत्रको चर्चा पनि सुनिँदैन । के जनतालाई यो विषय बुझाउन नसकिएको हो ?
ऋणपत्रको विषयमा धेरै प्रचार नै भएको छैन । त्यस कारणले पनि यो केही पछाडि परेको हो । अहिलेसम्म ऋणपत्र पुँजीका लागि जारी गर्ने गरेका थियौँ । त्यसैले बैंकहरू पनि त्यति आक्रामक थिएनन् । सर्वसाधारणहरूसँग पनि अन्य विकल्पहरू थिए । जस्तै एक वर्षका लागि छ महिनाका लागि फिक्स डिपोजिट राख्छु भन्थे अर्थात् उनीहरूले त्यसैमा सहजता महसुस गरेका थिए । त्यसैले ऋणपत्र त्यति चर्चित भएन । सरकारी बन्डमा हेर्ने हो भने पनि जनताको सहभागिता निकै कम देखिन्छ । कतिपय अवस्थामा सरकारी बन्डहरू एकपटक खोलेर पनि बिक्री नभएर पुनः खोल्नुपरेको अवस्थाहरू पनि थिए । अब भने विस्तारै यतातिरको आकर्षण पनि बढ्दै जाने देखिएको छ । आउने दिनमा यो बजार ठूलो हुन्छ जस्तो लाग्छ ।

जनतालाई ऋणपत्र पनि लगानीको स्रोत हो, यहाँबाट पनि आम्दानी हुन्छ भन्नका लागि के गर्दै हुनुहुन्छ ?
अहिले राष्ट्र बैंकले निक्षेपका लागि पनि ऋणपत्र जारी गर्न सकिन्छ भनेर सर्कुलर निकालेको छ । त्यो पनि एक प्रकारको प्रचारप्रसार नै हो । हुन सक्छ, भोलि बैंकले निक्षेपका लागि भनेर निकालेर ऋणपत्र जारी गर्दा त्यसको रेट धेरै हुनसक्ला । अहिले हामीले दुई प्रकारका ऋणपत्रको कुरा गरिरहेका छौं, भोलि विभिन्न किसिमका ऋणपत्रहरू निस्किन सक्लान् । त्यसले मानिसहरूलाई बढी आकर्षण गर्न सक्छ । त्यसैले अहिलेको अवस्थामा यो ‘मार्केटेबल सेक्युरिटी’ हो । चाहेको समयमा बेच्न सक्छौं भन्ने कुरा बुझाउने कोसिस गरिरहेका छौं । सेयर मार्केट तल गएको समयमा पनि लगानीका लागि यो एक प्रकारको माध्यम हुन सक्छ । यसमा लगानी गर्दा फिक्स रिटर्न पाइन्छ ।

लगानीकर्ताले सिभिल बैंककै डिबेन्चर किन किन्ने त ?
सबै डिबेन्चरको औसत कुपन रेट हेर्ने हो भने ९.४३ प्रतिशत छ । वि.सं. २०८८ मा म्याचुअर हुने ऋणपत्रको औसत कुपन रेट ८.५६ प्रतिशत छ । यो वर्षमा जति पनि ऋणपत्रहरू जारी भएका छन्, त्यसको औसत रेट ८.४२ छ । त्योभन्दा हाम्रो रेट निकै माथि छ । त्यसैले लगानीका तर्फबाट हेर्दा यसले बढी रिटर्न दिन्छ ।

तुलनात्मकरूपमा सुरक्षित ऋणपत्रमा लगानीकर्ताको ध्यान किन नगएको होला ?
जस्तै सेयर मार्केटको कुरा गर्दा त्यहाँ के–कति रिटर्न आउँछ भन्ने कुरा थाहा हुँदैन । ५ प्रतिशत हुन पनि सक्छ, १५ प्रतिशत हुन पनि सक्छ । त्यसलाई विभिन्न कुराहरूले असर गरिरहेका हुन्छन् । विभिन्न कारणले नाफा बढ्ला÷घट्ला, त्यसको निश्चितता हुँदैन । तर, यसमा ग्यारेन्टी हुन्छ । यसमा केही नभए पनि मैले १०.२५ प्रतिशतको रिटर्न पाउँछु भन्ने कुराको ग्यारेन्टी हुन्छ । यसमा बजार तलमाथि जानुले फरक पार्दैन, जोखिमको हिसाबले हेर्दा पनि यो ग्यारेन्टी छ । यसको जोखिम तुलनात्मक रूपमा कम हुन्छ ।

ऋणपत्रको किनबेचमा कत्तिको सहजता छ ?
यो सेयर बेचेजस्तै हो । कसैलाई किन्न, बेच्न छ भने मार्केटमा सहजै किनबेच गर्न सकिन्छ । अहिले केही व्यक्तिहरूले किनबेच गरिरहेका पनि छन् । फिक्समा भएकाले कतिपय मानिसले नबेच्ने पनि गर्छन् । तर, किनबेच भने भइ नै रहेको हुन्छ ।
तर, कतिले भोलिको दिनमा यसको कारोबार गर्छु भनेर पनि किनिरहेका हुन्छन् । जस्तै १० वर्षको फिक्स डिपोजिटको रेट हेर्ने हो भने ७.५-८ प्रतिशतको पाइन्छ । भोलि रेट केही तल हुनेबित्तिकै डिबेन्चरको भ्यालु बढेर आउँछ । त्यो भएपछि मानिसहरूले बेच्न पाए । जसले किन्छ उसलाई पनि फाइदा नै हुने भयो । बजारमा फिक्स डिपोजिटको भन्दा धेरै मूल्य भएपछि त्यो बीचको ग्याप उसलाई फाइदा हुन्छ । त्यसरी नै यसको भ्यालु बढ्दै जाने हो । मार्केटमा एफडीको रेट धेरै बढ्यो भने यसको भ्यालु घट्छ । उता घट्यो भने यता बढ्छ । अर्थात् ठीक उल्टो हुन्छ । यसबाट धेरै फाइदा पनि लिन सकिन्छ । त्यसैले भविष्यमा मानिसहरू बन्ड मार्केटमा जान्छन् जस्तो लाग्छ ।

अन्त्यमा, सिभिल बैंकको अहिलेको अवस्था कस्तो छ ?
पहिलो त्रैमासिकमा बैंकको नतिजा निकै राम्रो छ । गत वर्षको त्रैमासिकको तुलनामा यस वर्ष निक्षेपमा ३४ प्रतिशतको वृद्धि भएको छ । कर्जा पनि त्यहीअनुसारले बढिरहेको छ । अघिल्लो आर्थिक वर्षमा ५९ अर्ब थियो भने ४६ प्रतिशतले बढेर यस वर्ष ८६ बिलियन पुगेको छ ।
बैंकको नाफामा हेर्ने हो भने पनि अघिल्लो वर्षको असोज मसान्तमा ९६ करोड थियो, अहिले बढेर झन्डै तीन अर्ब पुगेको छ । त्यस्तै नन पर्फमिङ लोन पनि अघिल्लो वर्षको असोज मसान्तमा १.५ प्रतिशत थियो, अहिले घटेर ०.९६ आएको छ । यसले बैंकको स्ट्रेन्थ राम्रो छ भन्ने कुरा देखाउँछ । समग्रमा सबै प्यारामिटरहरू सकारात्मक देखिएका छन् । यो वर्ष पनि राम्रो गर्छौं भन्ने हाम्रो विश्वास छ । अर्को कुरा, ऋणपत्र जारी गर्दा ४० प्रतिशत पब्लिकलाई छुट्ट्याएका हुन्छौँ । त्यसको ५ प्रतिशत म्युचुअल फन्ड मागेका थियौँ, जुन ६ करोड रुपैयाँ हुन आउँछ । त्यो २.३ प्रतिशत ओभर सस्क्राइब भइसकेको छ । त्यसले पनि डिमान्ड उच्च छ भन्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्