गतिहीन भएर बस्ने छुट राप्रपालाई छैन : नवनिर्वाचित अध्यक्ष लिङ्देन «

गतिहीन भएर बस्ने छुट राप्रपालाई छैन : नवनिर्वाचित अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भएका छन् ।
महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र कुन्तिकुमारी शाही निर्वाचित भएका छन् । पार्टीमा १९९ सदस्यीय कार्यसमितिको व्यवस्था गरिएको भए पनि १४९ पदका लागि निर्वाचन भएको थियो । अब बाँकी रहेका ५० केन्द्रीय सदस्य मनोनित गरिने छन् । चार उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, सात सहमहामन्त्रीलगायत पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको उल्लेख गर्दै २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा रोजगारी सिर्जना हुन नसकेकाले विकास र समृद्धि कायम हुन नसकेको बताए । उनले आफ्नो पार्टी कमजोर भएको अहिलेको अवस्थामा अवलम्बन गरेको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायतका विषयलाई देशभर अभियान चलाएर अगाडि बढाइने र पार्टीलाई विधि तथा प्रक्रियाबाट सञ्चालन गरी गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अब हुने राष्ट्रिय चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिइने उनको भनाइ छ ।
लिङ्देनले पार्टीलाई अरुको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी पनि गरेका छन् । अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै उनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गरेका हुन् । उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीलाई विगतको जस्तो गतिहीन र निष्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभई पार्टीका मुद्दालाई जोड दिने बताए । उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए । उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सीमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरुलाई अब राप्रपाले नेतृत्व गर्ने बताए ।
आइतबार बिहान सम्पन्न मतपरिणाममा पार्टीका निवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन पार्टीको अध्यक्ष बनेका हुन् । थापाले १ हजार ६ सय १७ र लिङ्देनले १ हजार ८ सय ४४ मत प्राप्त गरेका थिए ।
आइतबार नै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले सपथ ग्रहण गरेका छन् । नवनिर्वाचित केन्द्रिय अध्यक्ष लिङ्देनले केन्द्रिय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिएका थिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए । त्यसलगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई अध्यक्ष लिङ्देनले सपथ खुवाएका थिए ।
सपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित थिए अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएनन् । कार्यक्रममा केन्द्रिय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङ्देनसहितका पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए । कार्यक्रममा पार्टीका निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचनको परिणाम स्विकार गरेर अघि बढ्न पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरे । पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उनले सो परिणामलाई स्विकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढ्नुको विकल्प नभएको बताए । निवर्तमान अध्यक्ष राणाले राजसंस्था र हिन्दु राज्यको स्थापना गर्ने पार्टीको लक्ष्य प्राप्तिका लागि सशक्त ढंगले अघि बढ्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्