Logo

व्यवसायी र बैंकरबीच ब्याजदरमा सहमति

झापा-बैंक तथा वित्तीय संस्थाले गरेको ब्याजदर वृद्धिको विरोध गर्दै उद्योगी–व्यवसायी आन्दोलनमा छन् । आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सहज बनाउन सम्बन्धित क्षेत्रका सरोकारवाला जुटेका छन् ।
बैंकर्स एसोसिएसन र उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधिबीच सोमबार झापाको बिर्तामोडमा छलफल भएको हो । छलफलमा बैंकिङ क्षेत्रका प्रतिनिधिबाट उद्योगी, व्यवसायीका माग र समस्याबारे गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । ब्याजदर वृद्धिको विषयलाई उचित सम्बोधनका लागि बैंक तथा वित्तीय संस्थाको माथिल्लो निकायमा पठाएर पहल गर्ने प्रतिबद्धता बैंकर्स एसोसिएसनले जनाइएको छ ।
बैंक तथा वित्तीय क्षेत्रको ब्याजका कारण उत्पन्न परिस्थितिलाई सहज बनाउन आ–आफ्नो क्षेत्रबाट नेपाल सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैंकको ध्यानाकर्षण गराउन तत्काल लाग्ने सहमति भएको छ । उद्योगी–व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीचको सम्बन्धलाई प्रगाढ बनाइ सहकार्यात्मक ढंगले अघि बढ्न छलफल र अन्तरक्रियालाई जारी राख्नेसमेत उनीहरूले जनाएका छन् ।
बैंकहरूले आफ्ना ग्राहक उद्योगी, व्यवसायीलाई अब वार्षिक रूपमा लेखालगायत ऋणको उचित र अधिकतम् उपयोगबारे तालिम तथा कार्यशाला सञ्चालनका लागि पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ । संवाद समूहको संयोजनमा बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा भएको छलफलमा उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले आफ्नो धारणा राखेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले उद्योगी–व्यवसायीको हित र मुलुकको समृद्धिका लागि दुई अंकको ब्याज घटाएर एक अंकमा ल्याउनुपर्ने र उत्पादनमूलक कार्यमा मात्र बैंकले लगानी गर्नुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्स झापाका अध्यक्ष सन्तोष अग्रवालले उद्योगी, व्यवसायी चर्को ब्याजको मारमा परेको भन्दै ऋण र निक्षेपको ब्याजदरमा रहेको ठूलो अन्तर तत्काल घटाउनुपर्ने बताए ।
झापा उद्योग संघका महासचिव दुर्गाप्रसाद भण्डारीले बैंकको ब्याजदर वृद्धिले उद्योगको उत्पादन लागत बढ्दा अन्तर्राष्ट्रिय बजारमा यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताए । उनले ऋणिबाट सेवाशुल्कको नाममा बैंकले असुलीरहेको रकम तत्काल नियन्त्रण गर्न माग गरे । राष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष सुवास भट्टराईले बैंकले रातारात ब्याज बढाएर उद्योगी, व्यवसायीलाई मार पारेको भन्दै अब ऋण लिँदा सोच्नुपर्ने अवस्था आएको बताए । उनले बैंकले उद्योगी व्यवसायीलाई ऋणको अधिकतम् उपयोग गर्नेबारे तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय प्रजातान्त्रिक उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य वेदप्रकाश अग्रवालले ऋणिलाई थाहै नदिई ब्याज बढाउने बैंकको कार्यशैलीबाट अन्याय भएको बताउँदै लिइसकेको ऋणको ब्याज बढाउन नमिल्ने बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाका अध्यक्ष देशबन्धु ढुंगेलले बैंकहरूको पारदर्शी कार्यशैली जरुरी रहेको बताउँदै संवाद र छलफलबाट समाधानको निकास खोज्नुपर्नेमा जोड दिए । व्यवसायीले ऋणको ब्याजकै कारण उद्योगी, व्यवसायी विस्थापित हुने अवस्था आएको भन्दै सेवा शुल्क, बैंक सिफ्ट चार्ज, इन्स्युरेन्स जस्ता बहानामा बैंकले रकम असुल्ने कार्य बन्द गर्नुपर्ने बताए ।
बैंकर्स एसोसिएसन बिर्तामोडका अध्यक्ष तथा एक्सेल डेभलपमेन्ट बैंकका सीईओ दिनेशकुमार पोखरेलले अहिलेको अवस्थामा अब छिट्टै सुधार आउने बताए । बजारमा ब्याजदर वृद्धिसँगै करलगायतका अन्य समस्या पनि आएकाले उद्योगी–व्यवसायीलाई ब्याजका कारण मार परेको अनुभूति भएको बताउँदै पोखरेलले ऋणको माग बढ्दो र त्यसको तुलनामा निक्षेप जम्मा नहुँदा समस्या उत्पन्न भएको बताए । उनले लगानी बढ्दा समस्या आएको बताउँदै अब बैंकको ब्याजदर बढ्न सक्ने त्रास तत्कालका लागि रोकिएको जानकारी दिए ।
छलफलमा एनएमबी बैंकका मेघराज तिम्सिना, ग्लोबल आइएमई बैंकका पवनकुमार पौड्याल, एभरेस्ट बैंकका सुनिल गिरी, नेपाल एसबीआई बैंकका शिव दाहाललगायतले बैंकिङ क्षेत्रको अवस्थाका बारेमा आफ्ना कुरा राख्दै उद्योगी, व्यवसायीका मागप्रति संवेदनशील भएको बताए । बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले वर्तमानको समस्या समाधानका लागि नीतिगत तहबाट सम्बोधन गर्न आफ्नो क्षेत्रबाट पहल र सहयोग रहने बताए । बैंकको ब्याजदर घट्नुपर्नेलगायतका मागसहित उद्योगी, व्यवसायीहरू आन्दोलित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्