चीनमा मेडिकल अध्ययनरत विधार्थीहरूद्वारा नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चेतावनी «

चीनमा मेडिकल अध्ययनरत विधार्थीहरूद्वारा नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चेतावनी

कोरोना महामारीको कारण नेपाल फर्किएका चीनमा मेडिकल अध्ययनरत विधार्थीहरूले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन पीडित विद्यार्थीहरूले सरकारसँग आग्रह गरेका हुन् ।
विद्यार्थीहरूले डेढ वर्षको इन्टर्नसिप नेपालकै सरकारी अस्पतालमा गर्न पाउनुपर्ने माग गरेका छन् । विद्यार्थीहरूले आफ्नो जायज माग पूरा नगरेमा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् । समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने पनि उनीहरूको चेतावनी छ ।
चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरले २०७८ साल साउन २३ गते इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरूलाई अनलाइन आवेदन गर्न सुचित गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, त्रिवि र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरू, नेपाल मेडिकल काउन्सिलका अध्यक्षलगायतका उपस्थितिमा मंसिर १७ गते छलफल भएको थियो ।
विदेशमा विभिन्न शिक्षण संस्थाहरूमा शिक्षाको एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीहरूले कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन पूरा गर्न नपाएका विद्यार्थीहरूलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भई अध्ययन निरन्तरता दिनको लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कुटनितिक पहल गर्ने र उल्लेखित नियामक निकायहरू समेतको समन्वय र सहकार्यमा आवश्यकता अनुसार समस्याको सकारात्मक निकास दिन पहल गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पीडित विद्यार्थीहरूले नेपाल मेडिकलले काउन्सिलमा बुझ्न जाँदा अनलाइन मार्फत लिइएको कक्षालाई मान्यता दिने भनेपछि आफूहरूले अनलाइन कक्षा लिएको बताए ।
अनलाइन कक्षा लिएर पूरै रकमसमेत बुझाएको उनीहरूको भनाइ छ । काउन्सिल र विश्वविद्यालयको समन्वयपछि पीडित विद्यार्थीहरूले अनलाइनमार्फत सैद्धान्तिक विषयहरू पढेको सुनाए । बाध्यात्मक परिस्थितिमा इन्टर्नसिप लिन बाध्य भएका विद्यार्थीहरूले राहत दिनुपर्नेमा थप पीडा दिईएको बताए । पटक–पटक सम्बन्धित् निकायमा धर्ना तथा विरोधका कार्यक्रम गरेको भएपनि अहिलेसम्म आफूहरूको मागको सुनुवाई नभएको उनीहरूको भनाई छ ।
एमबीबीएस अध्ययरत अर्का विद्यार्थीले स्वदेशमै प्रयोगात्मक विषयको लागि आवश्यक सामाग्रीसहित व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । इन्टर्नसिप गर्न बाँकी विद्यार्थीहरूले सबैले अनलाइनमार्फत विषयको ज्ञान लिएको उनले बताए । अनलाइनबाट शिक्षा लिँदा पनि पूरै रकम तिरेको भन्दै फेरि विश्वविद्यालयमा नै गएर कक्षा लिनुपर्ने मन्त्रालयले निर्णय गरेपछि थप पीडा भएको सुनाए ।
उनले भने,‘सम्बन्धित् विश्वविद्यालयमै गएर कक्षा लिनुपर्ने मन्त्रालयले भनेपछि हामीहरू थप संकटमा परेका छौं ।’ उनले इन्टर्नसिपको मागबारे पीडित विद्यार्थीहरूसँग कुनैपनि छलफल नभएको र सरकार विद्यार्थीहरूको बारेमा जानकार हुँदाहुँदै पनि विद्यार्थीहरूको हितका केही निर्णय नगरेकोमा आपत्ति जनाए ।
मन्त्रीलगायत काउन्सिलको उपस्थितिमा भएको छलफलले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरेको उनको गुनासो थियो । उनले भने,‘यदि विद्यार्थीको समस्या के हो र उचित समाधान गर्नुपर्छ भन्ने महसुस भएको भए विद्यार्थीहरूलाई पनि समेटेर छलफल गरिन्थ्यो ।’ देशका दक्ष जनशक्तिहरूलाई यसरी अप्ठ्यारोमा पार्न नहुने उनको भनाई थियो ।
एमबीबीएस अध्ययरत एक छात्राले कार्यक्रममा बोल्दै मन्त्रालयको यो निर्णयले विद्यार्थीहरू र अभिभावकहरूलाई निकै गाह्रो भएको सुनाईन् । यसले आर्थिक भार थपिँदा अभिभावकलाई थप पीडा भएको उनको भनाई थियो । उनले भनिन्, ‘सरकारले निजी विश्वविद्यालयसँग मिलेर मोटो रकम लिनलाई कुनै षड्यन्त्र भैरहेको देखिन्छ र यसको निर्णयप्रति हामी विद्यार्थी असन्तुष्ट छौं ।’
अर्का विद्यार्थीले मन्त्रालयले विद्यार्थीलाई फसाउन लागेको बताए । अर्की छात्राले कार्यक्रममा बोल्दै अनलाइनबाट लिईएको शिक्षालाई मान्यता दिएअनुसार अनलाइनबाट पुरै कोर्श पुरा गरेको बताइन् । उनले भनिन्, ‘प्रत्येक सेमिस्टार २ महिनामा सकाएर कोर्श सकाएको हो । फेरी कोर्ष पूरा गर्न सोही विश्वविद्यालय जानपर्ने निर्णयले हाम्रो भविष्यलाई अन्धकारमा धकलेको छ ।’
मन्त्रालयको यो निर्णयले निजी विश्वविद्यालयहरूमा फेरि कोर्ष पढ्न बाध्य बनाएर दोहोरो भार लगाउन खोजेको उनले आरोप लगाइन् । युवा शक्तिलाई समय खेर फाल्न लगाउन बाध्य पार्न खोजिएको बताइन् । चीनमा विद्यार्थीहरूलाई पठाउने निर्णय विद्यार्थीको हितमा नभएको समेत उनको भनाई थियो । ‘यो निर्णयलाई अस्विकार गर्छौं , हामी कुनै पनि हालतमा यो निर्णय स्विकार गर्न सक्दैनौं,’ उनले भनिन् ।
त्यस्तै, अर्का चीनमा अध्ययनरत विद्यार्थीले नेपाल मेडिकल काउन्सिललाई समस्याको बारेमा जानकारी दिँदा पनि आजसम्म समस्या समाधान नभएको बताए । विद्यार्थीहरूको माग सम्बोधन नहुनुमा शिक्षा मन्त्रालयनै जिम्मेवार भएको उनको आरोप थियो ।
उनले चीनमा एमबीबीएस अध्ययन गरेका आएका चिकित्सकहरूले नै विद्यार्थीहरूलाई सहयोग नगरेको पनि बताए । सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले नै विद्यार्थीहरूको मागलाई गैरजिम्मेवार जवाफ दिएको बताए ।
उनले आफ्ना मागहरू जायज भएको भन्दै तत्काल कार्यान्वयन गर्न माग गरे । र, उनले अघि भने, ‘मेडिकल इतिहासमा तपाईँहरूको नाम सुनौला अक्षरले लेखियोस र पछिका विद्यार्थीहरू सबैले तपाईंको नाम लिन पाउन त्यसरी हामीलाई सहयोग गर्नुहोस् ।’ नयाँ भेरियन्ट आइरहेको बेला अब फेरि चीन बन्द हुने भएको र चाँडै नै यतै व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्