निर्यात बढ्दा पनि कफीको व्यापार घाटामै «

निर्यात बढ्दा पनि कफीको व्यापार घाटामै

निर्यात बढे पनि आयात पनि बढेका कारण कफीको व्यापारमा नेपाल घाटामा नै छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले एक वर्षको अवधिमा मुलुकमा उत्पादित कफीको निर्यात झण्डै दोब्बर भएको छ । सँगसँगै आयात पनि बढ्दो क्रममा छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-०७७ मा ५ करोड ७७ लाख रुपैयाँबराबरको कफी निर्यात भएकोमा आव २०७७-०७८ मा ९ करोड ६० लाख रुपैयाँ पुगेको छ । आव २०७५-०७६ मा ९ करोड ९६ लाख १६ हजार रुपैयाँको कफी निर्यात भएको थियो ।
यसैगरी, आव २०७६-०७७ मा ११ करोड ८८ लाख ४९ हजार रुपैयाँको कफी आयात भएकोमा २०७७-०७८ मा १० करोड ६७ लाख २१ हजार रुपैयाँको आयात भएको विभागले जनाएको छ । आव २०७५- ०७६ मा ९ करोड ८० लाख १४ हजार रुपैयाँको कफी आयात भएको थियो । कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात खासै नघटेको देखिन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय बजारमा कफीको माग बढ्दै गए पनि उत्पादन गर्न नसक्दा निर्यात गर्न नसकिएको जानकारी दिए । बोर्डले उत्पादन क्षेत्र र उत्पादकत्व बढाएर नेपालमा पनि माग अनुसार कफी आपूर्ति गर्ने योजना अघि सारेको उनको भनाइ छ । स्वदेशी कफीको माग आन्तरिक तथा बाह्य बजारमा ठूलो रहेकोले सोही अनुसार यस क्षेत्रको विकासमा गर्नुपर्नेमा उनले जोड दिए ।
बोर्डका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा मुलुकभर ३ हजार १ सय ४ टन कफी उत्पादन भएको छ । देशभर ३१ हजार ३ सय ४० कफी कृषक छन् भने ३ हजार ५३ हेक्टर क्षेत्रफलमा कफीका बिरुवा रोपिएको बोर्डको तथ्यांक छ । नेपालमा उत्पादन हुने कफीको २५ प्रतिशत निर्यात हुँदै आएको छ । नेपालका ४० जिल्लामा कफीको उत्पादन हुँदै आएको छ ।
निर्यात बढ्दै गए पनि उत्पादन भने बढ्न नसकेको सरोकारवाला बताउँछन् । केन्द्रीय कफी सहकारी संघका महासचिव तुलसीराज धितालले भने, “किसानले कफीको उचित मूल्य पाउन नसक्दा व्यवसाय गर्न कठिन भएको छ । आयातीत कफीलाई नेपाली भनेर बिक्री गर्नाले पनि आन्तरिक बजारमा विदेशी कफीको खपत बढी हुने गरेको छ ।”
नेपालबाट अस्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इटलीलगायत मुलुकहरुमा कफी निर्यात हुने गरेको छ । कतार, जापान, कोरिया, अमेरिका, सिंगापुर, थाइल्यान्डजस्ता मुलुकहरुमा पनि नेपाली कफी जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्