हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि अभियान : महामन्त्री लिङ्देन «

हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि अभियान : महामन्त्री लिङ्देन

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट सुरु गर्ने भएको छ । फागुन १५ गतेदेखि सुरु गर्ने भनिएको स्वाभिमान यात्रा फागुन ३० गतेसम्म सञ्चालन गरिने राप्रपाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
हिन्दू राष्ट्रको पुनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेशमै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने उद्देश्यले अभियान सञ्चालन गरिने राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले बताए । महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण अभियान आवश्यक रहेको लिङ्देन बताउँछन् । “राजसंस्था र सनातन हिन्दू राष्ट्र संरक्षण वर्तमान आवश्यकता हो,” लिङ्देनले भने, “राजसंस्थाको आवश्यकता नागरिकमा महसुस भइसकेको छ, पहिले राजसंस्था हटाएर पुनःस्थापना भएका धेरै देशका उदाहरण छन् ।”
मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने बताइएको छ । कञ्चनपुरबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की भएर फागुन २९ गते काठमाडौँ प्रवेश गर्ने कार्यतालिका बनाइएको छ । अभियानको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले ताप्लेजुङमा गर्ने छन् । फागुन ३० गते दशरथ रंगशालामा विशाल सभा गर्ने योजना बनाइएको छ । काठमाडौँसम्मको १५ दिने स्वाभिमान यात्राका क्रममा २२ सय ६० किलोमिटरको दूरी तय गरिने छ । अभियानमा राप्रपाले साकाहारी भोजन खाने, हरेक दिन बिहान धार्मिक अनुष्ठान गरेर यात्रा प्रारम्भ गर्ने, बेलुका आरती गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्