भन्सारमा गुणस्तर नाप्ने उपकरण राख्न माग «

भन्सारमा गुणस्तर नाप्ने उपकरण राख्न माग

भन्सार कार्यालयमा विद्युतीय सामग्रीहरूको गुणस्तर नाप्ने उपकरण (टेस्टल्याब) राख्न व्यवसायीहरूले सरकारसँग माग गरेका छन् ।
व्यवसायीहरूले विद्युतीय सामग्री अतिसंवेनशील हुने भएकाले गुणस्तर नाप्ने टेस्टल्याब राख्न सरकारसँग माग गरेका हुन् । विराटनगरमा शनिबार भएको मोरङ इलेक्ट्रिक संघको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा व्यवसायीहरूले गुणस्तर नाप्ने उपकरण नराख्दा भारतबाट गुणस्तरहीन विद्युतीय सामग्री आयात भइरहेको बताए । संघका अध्यक्ष गोपाल अग्रवालले विद्युतीय सामग्री संवेदनशील भएकाले गुणस्तरीय सामग्री मात्र उपभोक्तालाई बिक्री गर्नुपर्ने बताए । सरकारले साना उद्योगलाई समेत प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रीय सचिव लक्ष्मीप्रसाद धितालले व्यवसायीहरूले विद्युतीय सामग्रीमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए । “पसलैपिच्छे विद्युतीय सामग्रीको मूल्य फरक हुँदा उपभोक्तामा गुनासो बढेको छ,” उनले भने, “मूल्य फरक हुँदा उपभोक्ताको विश्वाससमेत गुम्ने अवस्था देखिएको छ ।” विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विद्युतीय सामग्री संवेदनशील हुने भएकाले गुणस्तरीय सामग्री बिक्री वितरण गर्न आग्रह गरे । मोरङ इलेक्ट्रिक संघमा ८० जना आबद्ध रहेको संघले जनाएको छ ।
कार्यक्रममा विद्युतीय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तेजनारायण खरेल, मोरङका पूर्वअध्यक्ष मोहनप्रसाद न्यौपाने, प्राइम केवलका निर्देशक मुकेशकुमार झा, विद्युतीय व्यवसायी महासंघका अध्यक्ष भक्ति पाठकलगायतले विद्युतीय सामग्री खरिद गर्दा लाग्ने भन्सारमा समेत छुट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्