बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालन «

बुटबलमा ‘गार्डेन मार्ट’ को नयाँ शाखा सञ्चालन

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुटबलको योगिकुटी चोकमा सहकारीले आफनो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो ।
लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट सञ्चालनको शुभारम्भ गरे । मन्त्री हमालले प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै यस्ता मार्टको सञ्चालनले स्थानीय उपभोक्तालाई धेरै फाइदा पुग्ने बताए ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार बुटबलमा सञ्चालनमा आएको यो गार्डेन मार्टको १५ औं शाखा हो । यसअघि सहकारीले डडेलधुरा, भक्तपुरको कमलविनायक, कीर्तिपुर, लतिलपुरको ठैब, मकवानपुरको हेटौडा, चितवनको टाँडी, पोखरा, बाग्लुङ, दाङको तुल्सिपुर, बाँकेको नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, झापाको दमक र उदयपुरको गाइघाटमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ ।
भक्तपुरको कौशलटारमा मुख्य शाखा कार्यालय रहेको यो सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीयउपभोक्तालाई सर्वसुलभ रुपमा दैनिकउपभोग्यबस्तु उपलब्ध गराउन गार्डेन मार्ट सञ्चालनको अवधारणा ल्याएको हो ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सेयर सदस्यको हितका लागि विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको जनाएको छ । सहकारीले मुलुकभर ६ सय ७५ जनालाई प्रत्यक्ष रोजगारीको दिएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्