लगानीको उपयुक्त वातावरण बन्दै गएको छ : अर्थमन्त्री «

लगानीको उपयुक्त वातावरण बन्दै गएको छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको दाबी गरेका छन् ।
मोरङ व्यापार संघको ६५ वार्षिक साधारणसभालाई सम्बोधन गर्दैै अर्थमन्त्री शर्माले कोभिडको महामारी र सरकार परिवर्तनले लगानीकर्तामा केही निराशा उत्पन्न भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
उनले प्रदेश–१ मा कृषि, पर्यटन र ऊर्जा र सेवामूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे । अर्थमन्त्री शर्माले विराटनगरबाट सगरमाथाको फेदीमा चार घन्टामै पुग्ने गरी सरकारले काम गरिरहेको दाबी गरे । “ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्य गर्छु भन्दा धेरैले पत्याएनन् आखिर लोडसेडिङ अन्त्य भएरै छाड्यो, त्यतिबेला धेरैले हावादारी कुरा ग¥यो भनेर उडाए,” उनले भने, “म त्यस्तै असम्भव कुरा गर्न मन पराउँछु, काठमाडौंबाट पोखरा दुई घण्टा र विराटनगरबाट सगरमाथाको फेदीमा चार घण्टा पुग्ने अवस्था चाँडै नै सिर्जना हुँदैछ ।” बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याएर आर्थिक लाभ लिनुपर्नेमा मन्त्री शर्माले जोड दिए । छिमेकी मुलुक भारतका केही प्रतिशतलाई मात्रै भित्र्याएमा मुलुकको पर्यटन क्षेत्रले कोल्टे फेर्ने उनको विश्वास थियो ।
अर्थमन्त्री शर्माले १० हजार मेगावाट विद्युत खपत गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिए । शर्माले आर्थिक समृद्धिका लागि विद्युतको अत्याधिक खपत देशभित्रै हुनुपर्ने बताए । “१० हजार मेगावाट विद्युत देशभित्रै खपत हुनुपर्नेमा २ हजार मेगावाट उत्पादन नहुँदै विद्युत खेर जाने अवस्था आएको छ,” उनले भने, “देशभित्रै ठूला उद्योग सञ्चालन गरेर विद्युत खपत गर्न उद्योगी व्यवसायीलाई म आग्रह गर्दछु ।”
शर्माले आर्थिक विकास जनताको आकांक्षासँग जोडिएको बताए । उनले देशको विकासका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य आवश्यक भएको उल्लेख गरे । उनले सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए । “निजी क्षेत्र र सरकार सँगसँगै अगाडि नबढेसम्म देशको आर्थिक विकास सम्भव छैन,” उनले भने, “वर्तमान सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ । सरकारले कहाँ के गर्नुप¥यो तपाईंहरूले खुलस्त भन्नुहोला ।”
अर्थमन्त्री शर्माले देश विकास नहुनुको मुख्य समस्या दूरदृष्टिको र इच्छाशक्ति नहुनु रहेको बताउँदै सत्ताको होडबाजीमा सबै नेताहरू लागेका कारण समस्या भएको दाबी गरे । सरकारले गति लिन नसक्नुको पछाडि प्रदेश र स्थानीय तहलाई बलियो नबनाउनु पनि रहेको शर्माको कथन थियो । उनले सुनसरीको अमडुवास्थित साल्डट्रेडिङको स्वामित्वमा रहेको ६५० बिघामा औद्योगिक ग्राम स्थापना गर्न सरकार तयार रहेको प्रस्ट्याए । उनले भने, “कहाँ समस्या छन्, तपाईंहरू स्पष्ट मार्गचित्र लिएर आउनुहोस् सरकार लगानीका सबै व्यवधान हटाउन तयार छ ।”
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदर पु¥याउने लक्ष्य पूरा गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहेको चर्चा गरे । चालु आर्थिक वर्षमा पूँजीगत खर्चमा इतिहास रच्ने उनको दाबी थियो । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशमा लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश–१ अध्यक्ष भीम घिमिरेले औद्योगिक र आर्थिक नीति बनाउँदा निजी क्षेत्रसँग पर्याप्त छलफल गर्न आग्रह गरे । उनले कुनै पनि नीति ल्याउँदा सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्नेमा जोड दिए । “आर्थिक र औद्योगिक नीति ल्याउनुभन्दा अगाडि निजी क्षेत्रसित अनिवार्य छलफल गर्ने हो भने अहिलेको समस्या आउने थिएन,” उनले भने ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पर्याप्त स्रोत, जनशक्ति र बजारको सम्भावना रहे पनि स्रोत साधनको उचित उपयोग हुन नसकेको बताए । उनले सरकारको दीर्घकालीन नीतिको अभाव, खुल्ला सीमालगायतका विभिन्न अवरोधले अर्थतन्त्र कछुवाको गतिमा हिंडिरहेको दुखेसो पोखे ।
उद्योग वाणिज्य महासंघ प्रदेश–१ का अध्यक्ष टीकाराज ढकाल, मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, महासचिव अनिल साहलगायतले लगानीको वातावरण नबन्नुमा सरकार अस्पष्ट नीति नै बाधक रहेको दाबी गरे । उनीहरूले समयमै पुँजीगत खर्च हुने वातावरण सिर्जना नगरेसम्म असारे विकासले मुलुक दीर्घकालीन आर्थिक विकास नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्